हेलम्बुमा राहत : हेलिकोप्टरमा आएर चाउचाउ खसाल्छन्, फोटो खिचेर जान्छन् !

स्थानीयको गुनासो : राहतका नाममा पुराना कपडाको एक पोको पनि आयो

रातोपाटी

सिन्धुपाल्चोक

मेलम्ची बाढी प्रभावितहरूका लागि सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा राहत वितरण प्रभावकारी नभएको स्थानीयहरुले गुनासो गरेका छन् । हेलम्बुका बाढी प्रभावितहरुले राहत मेलम्चीमा केन्द्रीत भएको र हेलम्बुमा आएपनि सबैले पाउन नसकेको गुनासो गरेका छन् ।

हेलम्बुमा पुगेका कतिपय हेलिकोप्टरले चाउचाउ मात्र लिएर जाने र फोटो खिचेर फर्केको उनीहरुको भनाइ छ । हेलम्बुका स्थानीय मनिष तामाङले भने, ‘ग्याल्थुममा माथिबाट हेलिकोप्टर आयो र चाउचाउ खसालेर गयो । त्यो ठाउँमा चाउचाउ आवश्यक छैन, आवश्यक पर्ने कुराहरु अरु धेरै छन् ।’

हेलम्बु गाउँपालिका तिम्बुका पासाङ ग्याल्बु ह्योल्मोले बाढीले पूरै विस्थापित भएकाहरुलाई राहत वितरण गरेपनि बाढीबाट जोखिम भएर घर छोडेकाहरूलाई राहत नदिएको जानकारी दिए । कतिपय हेलिकोप्टरले खाद्यान्न लगायत अत्यावश्यक सामग्री राहत लगेपनि कतिपय हेलिकोप्टरले भने चाउचाउ राहतमा ल्याउने गरेको उनले बताए ।

तिम्बुका करिब ५० घर नदीको जोखिमा भएका कारण रातिको समयमा स्थानीयले घर छोडेर माथिल्लो भागमा गएर बस्ने गरेको उनले बताए ।

उनले भने–‘तिम्बु बजार क्षेत्रमा चालीस पचास घर छ । मेलम्ची खोलाले जमिन कटान गर्दै गएपछि सबै बस्ती अहिले जोखिममा छ । घर छोडेर अहिले स्थानीयहरु माथिल्लो भागमा गएर बस्न थालेका छन् । तिम्बुका लागि ल्याएको राहत पनि तल्लो भागका स्थानीयले खोसेर राख्ने गरेपछि माथिल्लो भागमा आउन पाएको छैन ।’

प्रकाशित मिति: : 2021-06-23 17:10:00

प्रतिकृया दिनुहोस्