सरिशा अछामी
मेलम्ची नगरपालिका– ११ का स्थानीय बासिन्दा वेदलाल दुलालको मेलम्ची अस्पतालअगाडि तीन तलाको घर छ । उनको घरलाई बाढीले कहिले भित्ता त, कहिले छेउ हानिरहेको छ ।
वेदलाल यतिखेर परिवारसहित इश्द्रेश्वरी माविमा बसिरहेका छन् । असार १ गते आएको बाढीले मेलम्ची बजारका खोला छेउछाउका घर पुरिएपछि वेदलालको जस्तै उच्च जोखिममा रहेका घरका परिवार अहिले स्कुलमा बस्दै आइरहेका छन् । वेदलाल बेला बेला आफ्नो घर हेर्न पुग्छन् । ‘घर कतिखेर बाढीमा मिसिने थाहा छैन,’ उनले लामो श्वाससँगै भने ।
तीन दशकअगाडि मेलम्ची बजार त्यति बाक्लो थिएन । खोलाको छेउछाउमा सानासाना टहरा हुँदै ठुल्ठूला घर बन्न थाले । वेदलालले नगरपालिकाले तोकेको मापदण्ड अनुसार घर बनाएका थिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहप्रवक्ता वेदनिधि खनाल हिमालदेखि आएका नदी किनारका बस्ती वा संरचना सधैँ जोखिममा हुने बताउँछन् । उनी भन्छन्, ‘हिमाल शिर भएर बग्ने नदीले कुनै न कुनै बेला बाटो बदल्न सक्छ । पहाडको उच्च भागमा हिमताल छन् भने फुट्न सक्छ, जसलाई सहजै नियन्त्रण गर्न सक्ने अवस्था हुँदैन । त्यसैले त्यस्ता ठाउँका नयाँ बस्ती जोखिममा हुन्छन् ।’
उनका अनुसार मेलम्चीभन्दा माथि पहाडको उच्च भागमा ३५ भन्दा बढी हिमताल छन् । त्यसैले तल्लो भेगमा बस्ती बसाउँदा यी हिमतालको पूर्वअनुमान गर्न सकियो भने भौतिक तथा मानवीय क्षति कम गर्न सकिन्छ । खोलाले अनुमानित सय वर्षमा आफ्नो पुरानो रूपमा फर्कने पनि सहप्रवक्ता खनाल बताउँछन् ।
मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याल यस क्षेत्रमा लामो समयदेखि बाढी आएको थाहा नभएकाले बस्ती बस्न थालेको बताउँछन् । ‘निजी क्षेत्रमा घर बनाउँछु भनेपछि नगरपालिकाले घर बनाउन दिन्न भन्न पाइँदैन । खोलाको छेउछाउमा घर बनाउँदा वाल लगाएर सुरक्षित तरिकाले मात्र बनाउन भनेका हुन्छौँ,’ उनले भने, ‘कतिपयको त्यहाँबाहेक अन्य स्थानमा जग्गा हुँदैन, त्यसैले खोलाकै छेउमा भए पनि घर बनाउन दिनैपर्छ ।’