बजेट सक्ने चटारोमा प्रदेश १ सरकार, दैनिक साढे ३ करोड खर्च

रातोपाटी

विराटनगर

नयाँ आर्थिक वर्ष नजिकिँदै जाँदा प्रदेश १ सरकारले दैनिक खर्च बढाएको छ। यद्यपि बजेट खर्चको प्रगति भने उत्साप्रद देखिएको छैन। चालु आर्थिक वर्षको ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँ बराबरको बजेटमा प्रदेश सरकारले विकासतर्फ (पूँजीगत खर्च) २२ अर्ब ६९ करोड ६३ लाख विनियोजन गरेको थियो। तर, जेठ मसान्तसम्म ९ अर्ब ८१ करोड ९२ लाख अर्थात् लक्ष्यको ४३ प्रतिशतमात्रै खर्च गर्न सकेको छ।

साधारणतर्फ १९ अर्ब ९६ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएकोमा ९ अर्ब ६३ करोड ४५ लाख रुपैयाँ अर्थात् ५० प्रतिशत खर्च भएको छ। प्रदेश सरकारले जेठ १ यता खर्चको चाप अझ बढाएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कुल बजेटमध्ये १९ अर्ब ४५ करोड ३८ लाख अर्थात् लक्ष्यको ४६ प्रतिशत खर्च गरेको प्रदेश सरकारले जेठ १५ यता दैनिक ३ करोड ६२ लाख ८० हजार रुपैयाँका दरले पूँजीगततर्फ खर्च गरेको छ।

अघिल्ला महिना न्युन अंकको खर्च रहेको प्रदेश सरकारले चालू आर्थिक वर्षको वैशाखमा मात्र पूँजीगततर्फ १८ करोड ४६ लाख ८७ हजार रुपैयाँ खर्चेको छ। तर त्यसपछिका दिनमा खर्चको अनुपात ह्वात्तै बढेको देखिन्छ। चालु आवको १० महिना अर्थात वैशाखसम्म कुल पूँजीगत खर्च ९ अर्ब ६३ करोड ४५ लाख थियो। त्यसैगरी चालुतर्फ सो अवधिसम्म कुल खर्च ८ अर्ब ३३ करोड ८५ लाख छ। वैशाखमा मात्र १ अर्ब २९ करोड ६० लाख खर्च भएको अवस्था छ।

प्रकाशित मिति: : 2021-06-23 10:26:00

प्रतिकृया दिनुहोस्