कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै संक्रमितको संख्या एकाएक बढ्यो। दैनिक रुपमा थपिदै गएका नयाँ संक्रमितले रेकर्ड कायम गर्दैै गए। बिरामीले अस्पलाल भरिन थाले। जताततै बेड अभाव हुन थाले। संक्रमितको स्वास्थ्यमा जटिल समस्या बढ्दै जाँदा अधिकांशलाई अक्सिजनको सहायतामा उपचार सुरु गर्नुपर्यो।
अस्पतालमा बिरामीले बेड नपाइरहेका बेला फेरि अर्को समस्या थपियो अक्सिजन। अस्पतालमा अक्सिजनको हाहाकार मच्चिन थाल्यो। अस्पताल पुगेका बिरामीलाई आफूहरू अक्सिजन जोहो गर्न नसक्ने भन्दै घर फर्काइरहेका थिए।
त्यही बेला विस्तारै देशमा संक्रमणका करण ज्यान गुमाउनेको संख्या पनि बढ्दै गयो। यो संख्याले दैनिक नयाँ–नयाँ रेकर्ड कायम गरिरहेको थियो। संक्रमणको पहिलो लहर सुरु भएदेखि संक्रमणबाट ज्यान गुमाएकाहरूको शव जलाउँदै आएको पशुपतिस्थित विद्युतीय शवदाह गृहले भार थेग्न सकेन।
जसकारण विद्युतीय शवदाहको पछाडिपट्टि बाग्मती किनारमा रहेको खाली ठाउँमा बाहिरै राखेर शव जलाउन थालियो। यी सबै घटनाबारे सबैभन्दा धेरै लेखिए। अनि सबैभन्दा पढिए र हेरिए पनि। सञ्चारमाध्यमले यस्ता समाचार प्रकाशन तथा प्रसारण गर्दै गर्दा मानिसको मनमा एक प्रकारको डर पैदा गरायो।