पिताजीसँगको यस प्रकारको यात्रा, यो प्रथम र अन्तिम नै हो। योे यात्रा ८० को दशकको सुरुतिरको हो। यो यात्रा त्यति वेलाको महिला सुरक्षा आरक्षित समाजकी एक महिलाको आफ्ना पितासँग राँची भारतको ‘राजेन्द्र मेडिकल कलेज’सम्मको हो। यो यात्रा हाम्रो परिवारमा पहिलोपटक एक महिलालाई भारत सरकारको छात्रवृत्तिमा उच्च शिक्षा प्राप्तिका लागि विदेश जाने प्राप्त अवसरको हो। यो यात्रा हाम्रो परिवारका बुजुर्क सदस्यहरूको गहन मन्थनपश्चात् चिकित्साशास्त्र अध्ययनका लागि मलाई भारत पठाउने सहमतिपश्चात्को हो। यसैले यो यात्रा स्मरणीय छ।
त्यसो त हाम्रो घरमा यस प्रकारको गृह पञ्चायत बसेको यो पहिलोपटक भने होइन। चाहे मैले विज्ञान विषय पढ्न होस्, वा मभन्दा माथिकी दिदीले अंगे्रजी, यस्तै प्रक्रियाबाट स्वीकृत वा अस्वीकृत हुने गरेथ्यो। छलफलको केन्द्रबिन्दु विषयको उपयुक्तता नभई को–एडुकेसन सुरक्षित होला वा नहोला भन्ने हुन्थ्यो। साथै यस्ता ठुल्ठूला विषय पढाउँदा केटा खोज्नुपर्ने सम्भावित कठिनाइको पनि छलफल हुन्थ्यो। तसर्थ एक किशोरीलाई विनाअविभावक पाँच वर्षको लामो समय विदेश बस्ने अनुमति दिनेजस्तो गम्भीर विषयमा त्यसबेलाको त्यो छलफल अपेक्षितै थियो।
अन्ततः म भारत जाने भएँ। जाने दिन पनि नजिकै आइसकेछ। तयारीमा एउटा नीलो जिनको पाइन्ट र फूलबुट्टे बुसर्ट किनियो। यस प्रकारको पोसाकले हाम्रो परिवारमा पहिलोपटक प्रवेश गरेथ्यो। त्यो फूलबुट्टे बुसर्ट अहिलेसम्म मेरो आँखा अगाडि नाचिरहेछ। मलाई लाग्छ, आजसम्म फूलबुट्टे कपडाप्रतिको मेरो लगावको कारण यही होला। तयारीको सबैभन्दा अप्ठेरो विषय त तय गर्न बाँकी नै थियो– भारतसम्म मलाई छोड्न जाने को ? दुई भाइहरू सानै थिए, दिदीहरू बिहे भई घरबार सम्हाल्नमै व्यस्त। त्यसो त त्यस्तो नभएकै भए पनि दिदीहरूलाई अविभावकत्व ग्रहण गरी बैनीलाई भारत पुर्याउने अवसर प्राप्त हुन्नथ्यो नै। मजस्तै उनीहरू नै सुरक्षा आरक्षित वर्गका परे। घुमिफिरी यो अभिभारा जीवनको छैटौँ दशकमा हिँडेका, त्यतिबेलाको समाजमा आफैँ सहारा चाहिने उमेर समूहका पिताजीकै काँधमा आइपर्यो। a