मुना चाैधरी
मैले उनलाई कहिले देखेकी थिइनँ । नदेखेको मान्छेलाई भेट्ने कुरै भएन । एकैपटक बिहे हुने भयो– नदेखेको, नचिनेको मान्छेसँग । म यस्तो परिवारकी थिएँ, जहाँ छोरीको इच्छा र रहरको मूल्य हुँदैन ।
मेरा बाले पक्की घर बनाए, जसमा दुईवटा मात्र कोठा थिए । हामी तीन छोराछोरी थियौँ– म, मेरो दाइ र मेरो भाइ । बाले सधैँ भन्थेँ, एक कोठा जेठो छोराका लागि, अर्को कोठा कान्छोका लागि । हामी बूढाबूढी जहाँ सुते पनि भो ।
मैले आफ्नो अधिकार माग्दै बासँग भन्थेँ– बा, मेरो लागि कोठा खोई, म कहाँ सुत्ने ?
बाले केही नबोल्दै आमा बोल्थिन्– तँ बिहे गरेर अर्काको घर जान्छेस् । यो तेरो दाइ र भाइको मात्र घर हो ।
आमाको जवाफ सुनेर मेरो मन खिन्न हुन्थ्यो । मेरो बाल मस्तिष्कमा नराम्रो असर पथ्र्यो । एक प्रकारको विद्रोह पैदा हुन्थ्यो । यस्तो लाग्थ्यो, बाआमालाई दाइ र भाइकै चिन्ता छ, मेरो कुनै चिन्ता छैन, किनकि म अर्काको घरमा जाने छोरी ।
घरमा मिठो खानेकुरा पाक्यो भने, आमाले दाइका लागि लुकाएर राखिदिन्थिन् । मेरो मन भित्रभित्रै कुडिन्थ्यो । लाग्थ्यो, के यो घरको मालिक मेरा दाइ र भाइ मात्र हुन् ? म यो घरको कोही पनि होइन ? के यो घरमा कुनै महŒव छैन ?
दाइ ठूलो भइसकेका थिए । दाइको बिहेभन्दा मेरो बिहे गराउन बाआमालाई हतार थियो । मेरो बिहे गर्ने बेला भएको थियो, वा थिएन भन्ने मलाई नै थाहा थिएन । तर दाइ र बाले मेरा लागि वर छान्ने निर्णय गरे । मलाई सोधिएन– तेरो रोजाइ के हो ? चाहना के हो ?