संक्रमणमुक्त भएकालाई ‘पोस्ट कोभिड’को खतरा, के हो यसको लक्षण ?

रातोपाटी

काठमाडाैं

काठमाडौं । कोरोनाभाइरस (कोभिड—१९) संक्रमितको ग्राफ पछिल्लो समय ओरालो लागिरहेको छ । संक्रमण घटेरभन्दा पनि परीक्षण दर कम भएका कारण संक्रमितको संख्या घट्दै गएको जनस्वास्थ्यविज्ञहरु बताउँछन्।

कोरोना संक्रमितको ग्राफमा कमी देखिएसँगै ‘पोस्ट कोभिड’ बढ्न थालेको उपचारमा संलग्न चिकित्कहरु बताउँछन्।

सरुवा रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार कोरोना संक्रमण भई पिसिआर नतिजा नेगेटिभ आइसकेपछि पुनः लक्षणहरु देखिनुलाई ‘पोस्ट कोभिड–१९ सिन्ड्रोम’ भनिन्छ । कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमितको संख्या बढी छ । कोरोनामुक्त भएका जुनसुकै व्यक्तिमा पोस्ट कोभिड देखा पर्नसक्ने उनी बताउँछन्।

संक्रमण भएर स्वास्थ्य संस्थाबाट नेगेटिभ रिपोर्ट पुष्टि भएर घर फर्किएकाहरुमा लामो समयसम्म स्वास्थ्यमा समस्या देखिएमा विशेषज्ञको सल्लाह लिनुपर्ने डा. अधिकारीको भनाइ छ । नेगेटिभ नतिजा आएर घर फर्किएको हप्तौं÷महिनौंसम्म स्वास्थ्यमा विभिन्नखालका समस्या देखिएका व्यक्ति अस्पतालमा आइपुग्ने गरेको उनले सुनाए।

अमेरिकामा लगभग ३२ प्रतिशतलाई पोस्ट कोभिड भएको अध्ययनहरुले देखाएको छ । यद्यपि नेपालमा संक्रमितमध्ये कतिलाई पोस्ट कोभिड भएको छ भन्नेबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग तथ्याङ्क छैन ।

प्रकाशित मिति: : 2021-06-18 10:14:00

प्रतिकृया दिनुहोस्