चीनको फलाम खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनको उत्तरी क्षेत्रस्थित शाङ्सी प्रान्तको एक फलाम खानीमा बाढीको पानी पसेर दुर्घटना हुँदा कम्तीमा ११ जना मजदुरको मृत्यु छ।

स्थानीय अधिकारीहरुका अनुसार बाढीमा फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य अझै जारी रहेको छ।

डाइक्सिन काउन्टीको सूचना कार्यालयले बिहीबार करिब एक बजे फलाम खानीको एउटा कुवामा पानी पसेको जनाएको छ । यसअघि उक्त खानी भित्र १३ जना हराइरहेको अनुमान गरिएको थियो। 

खानीभित्र थुनिएका मजदूर रहेको स्थानबाट पानी बाहिर निकालिएको पनि उक्त कार्यालयले जनाएको छ। खानीको हिलो र माटोमा पुरिएको आशंका गरिएका अरु तीन जना मजदूरको खोजी जारी रहेको छ। 

स्थानीय उद्धार कार्यालयले उक्त घटनाको छानबिन शुरु भइसकेको जनाएको छ। खानी मजदूरको शव निकाल्ने क्रममा उद्धारकर्मीले टनेलभित्र ठूलो संख्यामा फ्युज, डेटोनेटर र बिस्फोटक पदार्थ भेटिएको बताएका छन्।

बिस्फोटक पदार्थ डिस्पोजल गर्ने विज्ञहरुको टोली पनि उक्त खानीमा पठाइएको छ। बुधबार बिहानैदेखि भइरहेको भारी वर्षाका कारण उद्धार कार्यमा कठिनाई भइरहेको छ। रासस 

प्रकाशित मिति: : 2021-06-16 15:10:00

प्रतिकृया दिनुहोस्