उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र (कान्छा) दिपेश पुन र पूर्वमन्त्री वर्षमान पुनका स्वकीय सचिव जीवनप्रवेश रोकामगरलाई ‘राेल्पाका दिलबहादुर घर्ती बचाउ अभियान’को बाँकी रकम सार्वजनिक गर्न सहयोगीहरूले माग गरेका छन्।
सामाजिक सञ्जाल र फोनमार्फत् पटकपटक अभियानपछि बचेको तीस लाख रुपैयाँ सार्वजनिक गर्न आग्रह गर्दा समेत कुनै पुन र राेकामगरले कुनै वास्ता नगरेको उनीहरूकाे गुनासो छ।
साउदी अरबको जेलमा रहेका (हाल घर फर्किसके) रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन चार वर्षअघि आर्थिक संकलनका लागि अभियान शुरु गरिएको थियो। अभियानको नेतृत्व उपराष्ट्रपति पुत्र दिपेश र पूर्वमन्त्री वर्षमानका स्वकीय सचिव जीवनप्रवेशलगायत युवा समाजसेवीहरूले गरेका थिए।
‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’को संयोजक दिपेश र सचिव जीवनप्रवेश हुन्। उनीहरूसहित पीडित दिलबहादुरकी श्रीमती मनिका घर्तिमगरको संयुक्त नाममा ‘खाता खोली’ आर्थिक सहयोग संकलन अभियान ब्यापक रूपमा सक्रिय पारिएकाे थियाे। अभियानले देश तथा विदेशमा सफलता प्राप्त गर्यो र दिलबहादुर साउदी अरबको कहालीलाग्दो जेल जीवनबाट मुक्त भए।
दिलबहादुरले चलाएको ट्रकमा कार ठोक्किएपछि साउदी नागरिकको मृत्यु भएको थियो। लगतै, साउदी अदालतले उनको गल्ती देखाइ मृतकका परिवारलाई करिब ६५ लाख नेपाली रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनायाे र राेल्पाबाट आर्थिक सहयोग संकलन गर्न थालियाे।
अदालतले तोकेको ब्लडमनी तिरेर दुईवर्षको जेल सजायपछि दिलबहादुर घर फर्किसकेका छन्। दिलबहादुरले ब्लडमनी बाफतको ६७ लाख रुपैयाँ साउदीका लागि नेपाली दूतावासमार्फत् मृतकका परिवारले प्राप्त गरेपछि उनी जेल रिहा भइ घर फर्केका हुन्।
अभियानका क्रममा स्वदेश तथा विदेशबाट उनकाे सहयाेगका लागि १ करोड ४ लाख २६ हजार २ सय २३ रुपैयाँ संकलन भएको थियो। ६७ लाख रुपैयाँ दिलबहादुरलाई जेलबाट निकाल्नका लागि तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीमार्फत अभियानका संयोजक तथा उपराष्ट्रपति पुत्र पुनले हस्तान्तरण गरेका थिए।
दिलबहादुर बचाउ अभियानका क्रममा बचेको आर्थिक मध्ये सात लाख गोरखाका प्रेम राई (सात लाख नै भए/नभएकाे कुनै पुष्टि छैन– जानकार)लाई सहयोग गरेको र बाँकी ३० लाख रुपैयाँ संयोजक पुन र सचिव रोकामगरले हालसम्म सार्वजनिक गरेका छैनन्। दिलबहादुरको अभियानबाट बचेको तीस लाख यथासिघ्र सार्वजनिक गर्न सहयाेगीदाताहरूले आग्रह गरेका छन्।
अभियान समापनका क्रममा (३० साउन २०७५) संयोजक पुन र सचिव रोकामगरले बाँकी तीस लाख रूपैयाँ विशेष कोष बनाएर राखिने बाँचा गरेपनि अहिलेसम्म कुनै जानकारी दिएका छैनन्।
दिलबहादुरको सहयोगका लागि बेलायत र पोर्चुगलका प्रवासी नेपालीहरूले दश लाखभन्दा बढी रुपैयाँ संकलन गरी अभियानलाई बुझाएका थिए। राप्ती समाज यूकेको नेतृत्वमा मात्रै आठ लाख ७५ हजार पाँच सय ५५ र पोर्चुुगलमा एक लाख ३९ हजार पाँच सय ४१ रुपैयाँ संकलन गरिएको थियो।
साउदी, दुबई, मलेसिया, कतारलगायत प्रायः मूलुकबाट उत्साहपूर्वक ढंगले आर्थिक संकलन भएपनि अभियानपछि बचेकाे तीस लाख गुपचुप राखिएपछि विभिन्न शंकाशरू उत्पन्न भइरहेकाे सहयोगीहरू (कतार, यूराेप र जिल्लाका अभियानमा सक्रिय युवा)ले बताएका छन्।
दिलबहादुर बचाउ अभियानबाट बचेको बाँकी रकम छिट्टै सार्वजनिक गर्न संयोजक र सचिवलाई पोर्चुगलमा बस्ने राेल्पाली युवा समाजसेवी कविराज बानियाँले आग्रह गरेका छन्। तीन वर्ष भइसक्दा पनि आर्थिक लेखाजोखा नगरेकोप्रति उनको आक्रोष छ। सामाजिक सञ्जालमा उनी लेख्छन्, 'रोल्पाका दिलबहादुर बचाउ अभियानबाट बचेको पैसा खोइ? जुन अभियानमा म स्वयं पनि सहभागी थिए।'
रोल्पाका दिलबहादुर बचाउ अभियानबाट बचेको तीस लाख रकमको पारदर्शितासहित सार्वजनिक गरिनुपर्ने उनीहरूको माग छ।
सामाजिक सञ्जालमा टिका–टिप्पणी भएतापनि आफूलाई अहिलेसम्म कुनैपनि व्यक्तिले बचेकाे बारे नसोधेको ‘दिलबहादुर घर्ती बचाउ अभियान’का सचिव जीवनप्रवेशले बताए। आफूहरूको खातामा तीस लाख नभई २०–२२ लाखसम्म हुनसक्ने अनुमान गरेका छन्। बाँकी पैसा जम्मा गर्न कोष बनाउने सल्लाह भएपनि कोरोनापछिकाे लकडाउनले संस्था दर्ता गर्न नसकेकाे उनले स्विकार गरे।
‘हामीहरूलाई रकम सार्वजनिक नगरेको आरोप लागेको छ। त्यो हल्ला सत्य होइन। रकम पहिल्यै सार्वजनिक गरिसकेका छौं,’ उनले भने, ‘संस्था पनि तयार भइसकेको छ। पैसा त्यसैमा राख्ने कुरा हो। नयाँ पाइला संस्थाको नाम राखेका छाैँ। हामीसँग तीस लाख पैसा छैन।’
सामाजिक अभिन्ताहरूको गुनासो बारे ‘दिलबहादुर घर्ती बचाउ अभियान’का संयोजक दिपेश पुनलाई थप बुझ्न खोज्दा उनको फोन उठेन।