धादिङका चेपाङ समुदायलाई कोयोनद्वारा खाद्यान्न वितरण

नेपाल हेल्फ् आखन जर्मनिको सहयोगमा को-अपरेटिभ युथ अर्गनाईजेसन नेपाल (कोयोन)द्वारा १८० घरधुरी रहेका धादिङ जिल्लाका चेपाङ समुदायनाई खाद्यान्न वितरण गरिएको छ।
 
बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ को  आँपटार, दुव्लिङ, पार्लाङ, मासखर्क, कार्तिके, धुसेनि र भान्टाकिमा बस्दै आएका चेपाङ समुदायलाई कोरोना महामारीको समयमा राहत स्वरुप १८० बाेरा चामलसहित दाल, चिउरा, नुन, तेल वितरण गरेकाे हाे।

यसक्षेत्रका बासिन्दा लामो समयको निषेधाज्ञाकाे कारण रोग र भोकसँग जुधिरहेका थिए। कोरोना महामारीले आक्रांत पारेको बेला खाद्यान्न पाउदा खुशी हुँदै मासखर्क गाउँका अगुवा कृष्ण बहादुर चेपाङले दातालाई धन्यवाद दिए।

'हामी त रोग र भोकको चपेटामा परेका थियौ‌‍‍‍‍, खाद्यान्नले हामी र छाेराछाेरीलाई ठूलो राहत पुगेको छ, अब बाच्ने आशा पलायाे।'  कृष्ण बहादुरले भने।

पहिलो चरणको कोरोना महामारीमा सोही गाउँपालिका वडा नं. १, २, ६, ७ र ८ का चेपाङ र तामाङ समुदायका बिद्यालय जाने बालबच्चाहरुलाई कोयोनले लुगाफाटा समेत वितरण गरेको थियाे। 

धादिङ जिल्लाको दक्षिण र चितवन जिल्लाको उत्तरी सिमाना क्षेत्रमा चेपाङ समुदायको बसोवास रहेको छ। चेपाङ समुदाय इमान्दार र सोझा जनजाति हुन्।

उनीहरुकाे मुख्य पेशा खेतिपाति, जंगलको कन्दमुल बिक्री गर्ने, जरिबुटी, बाँसको सामाग्रीहरु, नाम्लो, ठेकी जस्ता घरायसी प्रयोजनका सामाग्री बनाएर बेच्दै गुजारा चलाउने गर्दछन्।

उनिहरुको आफ्नै खेतिपातिमा उम्रेका अन्नले वर्षमा ३ महिना मात्र खाना पुग्ने चेपाङ समुदायकाे कोरोना महामारी र लामो समय निषेधाज्ञा हुँदा रोजीरोटी नै गुमेको थियो।
 
करिब २ दशक अगाडि धादिङ बेनिघाटका युवा मिलेर स्थापना भएको गैरसरकारी संस्था हो 'कोयोन'। उक्त संस्थाले यस क्षेत्रमा र आसपासका गाउँपालिका र  छिमेकी जिल्लामा समेत विद्यालय, पुस्तकालय , कम्प्युटर, स्कुलका भौतिक पूर्वाधार निर्माण गर्न सहयोग गरेका छन। 

२०७२ सालको भूकम्पमा यता आपतकालिन अवस्थामा राहतस्वरुप खाद्यान्न, त्रिपाल र शैक्षिक सामाग्री सहयोग गर्दै आएका छन। 

'हनुमान अनुलस' ईटलीको सहकार्यमा कोयोनले करिब १५ बर्षदेखी विपन्न तथा जेहेन्दार विद्यार्थीको पठनपाठन र बासको लागि  बेनिघाटमा 'ह्याप्पि होम' बालगृह स्थापना गरेको थियो। हाल करिब ३० जना विद्यार्थी बालगृहमा बसेर अध्ययन गरिरहेका छन। उनिहरुको खानपिन, बास, औषधि उपचार, शैक्षिक सामाग्री सम्पूर्ण नि:शुल्क छ।

उनिहरुको सम्पूर्ण खर्च इटालीस्थित हनुमान अनुलस संस्थाको सहयोग र कोयोनको व्यवास्थापनमा चलेको कोयोनका संस्थापक अध्यक्ष दिनेश कुमार कॅडेल (रबि) ले जानकारी दिए।

यही बालगृहमा बसेर केयोनको छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरु उच्च शिक्षा हासिल गरी डाक्टर, इन्जिनियर, नर्स, शिक्षक आदि भइसकेका अध्यक्ष कॅडेलले बताए।

प्रकाशित मिति: : 2021-06-13 16:37:00

प्रतिकृया दिनुहोस्