वैशाखको दोस्रो साता गोलबजार नगरपालिका–३ जमदहको सदाय (मुसहर) बस्सीमा रुघाखोकी र ज्वरोको लहर चल्यो। बिरामी भएकामध्ये अधिकांश कोरोना संक्रमणबाट मृत्यु भएका एक व्यक्तिको दाहसंस्कारमा सहभागी भएका थिए। त्यही मध्येकी एक हुन्, सीता सदाय।
मलामीमा सहभागी भएको तेस्रो दिन सीतालाई हनहन्ती ज्वरो आयो। भाइरल ज्वरो होला भनेर उनले गाउँकै औषधि पसलबाट सिटामोल किनेर खाइन्। ज्वरोको पारो केहीबेर कम भए पनि फेरि माथि चढ्यो। ज्वरो, शरीरको दुखाइले छटपटिएर रात काटेका उनले भोलिपल्ट थाहा पाइन्– जुन मलामीमा उनी सहभागी भएकी थिइन्, त्यो व्यक्ति कोरोना पोजेटिभ रहेछ। त्यसपछि उनी आत्तिइन्। आफन्तको सल्लाहमा जिल्ला अस्पताल सिरहा पुगेर उनले पिसिआर परीक्षणका लागि स्वाब दिइन्। भोलिपल्ट उनको रिपोर्ट कोरोना पोजेटिभ आयो। त्यसपछि उनका श्रीमान् र आठ वर्षीया छोरीमा पनि उस्तै लक्षण देखियो।
पिसिआर परीक्षण गराउन एक हजार रूपैयाँ खर्चिनुपर्ने बाध्यताका कारण सीताले श्रीमान् र छोरीलाई परीक्षण गराइनन्। सिटामोलसहित आफूले चिकित्सकको परामर्शमा खाइरहेको औषधि छोरी र श्रीमान्लाई पनि खुवाइन्। ज्वरो बिस्तारै घट्दै गए पनि खोकीलगायत संक्रमण अझै बिसेक भएको छैन।
गोलबजार–९ धोबियाधार किनारमा सुकुमबासीका रूपमा बस्दै आएका मुसहरले वर्षामा घर डुबान, शीतलहरमा चिसो त खेप्दै आएका थिए, पछिल्लो एक वर्षयता कोरोनाको कहर खेप्नुपरेको छ। वर्षा, चिसोभन्दा खतरनाक छ, यस समुदायका लागि कोरोना। किनभने, यो महामारीले उनीहरूको रोजगारी मात्र खोसेको छैन, जीवनमा बेहिसाब ऋणको भारी थोपरिदिएको छ।
ज्वरो त पहिला पनि नआएको होइन, तर यसपालि ज्वरोले सीतालाई निकै गलायो। ओछ्यानबाट उठ्नै नसक्ने गरी थलिएको सीताले बताइन। ‘बहुत कमजोरी महसुस होइछै (निकै कमजोर महसुस गर्दैछु)’ उनले भनिन्, ‘डाक्टर माछ, माउस, अण्डा, दूध, फलफूल खाइके सल्लाह दैछै (डाक्टरले माछामासु, अण्डा, दूध, फलफूल खान सल्लाह दिएका छन्)। नुन भात त जुरबे ने करैछै माछ माउस कत स लाबु (नुन भात त जोर्न हम्मे छ, माछामासु कहाँबाट ल्याउनु) ?’
तीन जनाको सीताको परिवार ज्याला मजदुरीमा अडिएको छ। दैनिक ज्याला मजदुरी नगरे हातमुख जोड्न धौधौ पर्छ, यस परिवारलाई। पोहोर कोरोनाका कारण काम नपाउँदा गुजारा चलाउन ऋण चढ्यो। त्यो ऋण चुक्ता गर्न नपाउँदै कोरोनाको दोस्रो लहर सुरु भयो। पहिलो लहरमा संक्रमणबाट बाँचे पनि दोस्रो लहरमा सीताको परिवारै संक्रमित भयो। अहिलेसम्म औषधोपचारमा करिब १० हजार खर्च भइसकेको सीता बताउँछिन्।
यस गाउँका करिब २२ घर सदाय समुदायको व्यथा सीताको जस्तै छ। यहाँका २२ जनामा कोरोना पुष्टि भएसँगै छिमेकका गाउँसम्म प्रचार भएको सीता बताउँछिन्। अहिले कृषि मजदुरीको सिजन छ। गाउँमा कोरोना फैलिएको भन्दै जमिनदारहरू यहाँका मजदुरलाई काममा लिन हिचकिचाएका छन्। जो कोरोना पोजेटिभ छन्, उसका लागि त केही छैन, संक्रमित नभएकाले समेत बेरोजगारीको मार खेप्नु परेको सीता बताउँछिन्।