सन्दीप खत्री
प्रिय लुरी,
मुटुभरिको प्यार !
लकडाउनले गर्दा बाहिरी वातावरण सबै सुनसान छ। हाम्रो पसल पनि बन्द छ। समय विताउन पुराना केही काम गर्नु, फेसबुक, युट्युव र टिकटक हेर्नु बाहेक अन्य विकल्प छैन। काम गर्दैगर्दा मेरो गीत सुन्ने बानी छ। कम्प्युटरमा बसेर गीत सुन्न युट्युव खोलेको मात्र के थिएँ, माधवप्रसाद घिमिरे लेख्नु भएको ‘उनको प्रिति पहिले हो कि मेरो प्रिति पहिले’ शीर्षक गीत देखियो। कम्प्युटरमा त्यही गीत बजिरहेको थियो, खोई कुन्नि कताबाट एक्कासी मनले तिमीसँगको पहिलो भेट सम्झायो। अनायासै यी हातका औलाहरूले केही लेख्नका लागि किबोर्डका अक्षर थिच्न थाले। मैले पनि रोकिनँ आफ्ना औंला। मनको बेगलाई आफ्नै गतिमा बग्न दिएँ।
१३ वर्ष अगाडि तिमीसँग भएको भेटको झल्को आइदियो। भदौको महिना, सिमसिम पानी परिरहेको, जनैपूर्णिमाको पूजाका लागि हामी नागी जाँदै थियौ। तिमीसँग लेखफाँटमा भेट भएको थियो! म डिलमा बसेर काँक्रो खाइरहेको थिएँ। यत्तिकैमा तलबाट केही केटीको हुल आएको थियो, त्यहीँ हुलको पछाडि तिमी एक्लै उकालो चढ्दै थियौ। उकालो बाटो भएकाले होला तिमीलाई हिँड्न निकै गाह्रो भइरहेको थियो। तिमीसँग अकस्मात एक टकले नजर जुध्यो, न तिमी केही बोल्यौ न म। बस् फिल्मी पारामा हेरिरह्यौ अनि मुस्काराएर तिमी उकालो लाग्या। मैले हेरिरहें।
त्यतिबेलै हो मनमा हलचल भएको, त्यस्तो किसिमको आभाष पहिले कहिल्यै पनि भएको थिएन। पातलो शरीर, सिल्की अनि स्वतन्त्र उडिरहेको कपाल। निलो कुर्तामा सजिएर मधुर मुस्कान दिएकी थियौ तिमीले। त्यही मुस्कानले त हो सिधै दिलमा प्रहार गरेको। भुतु्क्कै भएँ म।