सरकारले ढल्केबरमा ट्रमा सेण्टर बनाउने भएपछि स्थानीय स्तरमा जग्गाबारे चलखेल (भिडियाे)  

सरकारले धनुषाको ढल्केबरमा ५० शय्याको ट्रमा सेण्टरसहितको अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेपछि निर्माणस्थलको विषयमा विवाद सुरु भएको छ। उत्पन्न विवादले सबैको ध्यान केन्द्रित गरेको छ।

निर्माणस्थलको विवाद चुलिँदै जाँदा बजेट फ्रिज हुनेसम्मको खतरा बढेर गएको छ। कतिपयले भने ट्रमा सेण्टर निर्माणस्थलको विवादलाई राजनीतिकरण गर्न खोजेको प्रतिकृया दिएका छन्।

उपप्रधानमन्त्रीसमेत रहेका शहरी विकासमन्त्री राजेन्द्र महतोले भने, ‘ट्रमा सेण्टर निर्माणस्थलबारे ढल्केबरमा भएको विवादबारे सरकारको ध्यानाकर्षण भएको छ। विवादबारे सत्यतथ्य आउन बाँकी नै छ।’

संघीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष ०७८/७९ को बजेटमा ढल्केवरको ट्रमा सेण्टर भनेर किटान गरेको छ तर ट्रमा सेन्टर निर्माणको लागि जग्गा उपलब्ध गराउनुपर्ने  मिथिला नगरपालिकाले कार्यपालिकाको बैठकमार्फत् लालगढमा ट्रमा सेण्टरका लागि जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ। त्यसपछि विवाद उत्पन्न भएको हो।

उक्त विवाद सतहमा आएपछि ढल्केबरको ट्रमाबारे संघीय सरकारको समेत चासोको विषय बनेको छ। उपप्रधानमन्त्रीसमेत रहेका शहरी विकासमन्त्री राजेन्द्र महतोले भने, ‘ट्रमा सेण्टर निर्माणस्थलबारे ढल्केबरमा भएको विवादबारे सरकारको ध्यानाकर्षण भएको छ। विवादबारे सत्यतथ्य आउन बाँकी नै छ।’

कतिपयले लालगढमा प्रतिनिधिसभा सदस्य तथा हालका उपप्रधानमन्त्री एवम् पराराष्ट्रमन्त्री रघुवीर महासेठ र मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोको लालगढमा जग्गा भएकाले आफ्नो जग्गाको भाउ बढाउन लालगढमा ट्रमा सेण्टर लैजान लागेको भनेर सामाजिक सञ्जालहरुमा लेखेपछि मेयर महतो आक्रोशित भएका छन्।

मिथिलाका मेयर महतोले पत्रकार सम्मेलन नै गरेर आफ्नो नाममा लालगढमा कसैले जग्गा भएको प्रमाणित गरे १० लाख पुरस्कार दिने घोषणा गरे। मेयरको यो घोषणाले ढल्केबर झनै तरङ्गित बन्यो।

कतिपयले मेयर महतोको सम्पत्ति छानबिन हुनुपर्ने मागसमेत गरे। लालगढमा उपप्रधानमन्त्री महासेठ र आफ्नो जग्गा नभएको दाबी मेयर महतोको छ। प्रस्तावित स्थान लालगढ मिथिला नगरपालिका वडा नम्बर १० मा पर्छ।

राजनीतिक रङ्ग

ढल्केबरमै ट्रमा सेण्टर बन्नुपर्ने मागका लागि निषेधाज्ञाबीच नै  मान्छे भेला गरेर संघर्ष समिति गठन गरियो। संघर्ष समितिको संयोजक बने– नेपाली कांग्रेसका कार्यकर्ता बुधेश्वर महतो र उपेन्द्र यादवनिकट मानिने जसपा नेता चन्देश्वर महतो।

मेयर महतोले यसलाई ट्रमाको नाममा राजनीति गर्न खोजेको आरोप लगाए। महतो नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत हुन्। उनी प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली खेमाका प्रभावशाली युवानेता हुन्।

‘ट्रमाको नाममा विपक्षीहरुले राजनीति गर्न खोजेका छन्’, मेयर महतोले बिएल नेपाली सेवासँग भने, ‘ट्रमा सेण्टर निर्माणस्थल नगरपालिकाले होइन, प्राविधिकहरुले तय गर्ने हो। हामीले प्राविधिकहरुलाई जग्गा देखाइदिने मात्र हो।’

बजेट विनियोजनको पूर्वसन्ध्यामा ट्रमा सेण्टर निर्माणस्थल निरीक्षणका लागि रघुवीर महासेठ, मेयर महतोसहित स्वस्थ्य मन्त्रालय र सहरी विकास तथा भवन निर्माण विभागका प्राविधिकहरुको टोलीले मिथिला–४ मा पर्ने पुष्पलपुर,  मिथिला–७ को ढल्केबर र मिथिला–१० को लालगढको जग्गा निरीक्षण गरेको थियो।

पुष्पलपुर निवासी मिथिला–३ का वडाध्यक्ष विष्णु खदालले संघीय सरकारको प्राविधिक टोली जग्गा निरीक्षण गर्न सबैभन्दा पहिला पुष्पलपुर आएको बताए। उनले भने, ‘ट्रमाको लागि प्राविधिकहरुले तीन बिगाहा जग्गा चाहिने बताए। मैले तीन बिगाहा मात्र होइन चाहिन्छ भने ११ बिगाहा जग्गा उपलब्ध गराउने बताएँ। मेयर साबले पनि यहीँ बनाऊँ भन्नुभयो तर जग्गा पूर्व–पश्चिम राजमार्गदेखि टाढा भयो भनेर प्राविधिकहरुले मानेनन्।’

पुष्पलपुरको जग्गा निरीक्षण गरेपछि प्राविधिकहरु ढल्केबरमा छुट्ट्याइएको हेर्न गए। उक्त जग्गा पनि राजमार्गभन्दा करिब दुईकिलोमिटर दक्षिण भएको भन्दै प्राविधिकहरुले अनुपयुक्त ठहर गरे।

लालगढको ट्राफिक बिटनजिक रहेको सौतेनीखोलाछेउको जग्गालाई प्राविधिकहरुले स्थलगत अध्ययनपछि उपयुक्त हुने भनी सिफारिश गरे तर ‘ढल्केबरको ट्रमा सेण्टर’ किटान गरेर अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटमा रकम विनियोजन गरियोे।

त्यसपछि सुरु भयो– ठाउँको विवाद। बजेटमा ढल्केबर भनेर किटान गरिएको ट्रमा सेण्टर लालगढ लान लागियो भनेर विरोध सुरु भयो। एमालेबाट जितेका एक जनप्रतिनिधिले भने, ‘विपक्षीहरुले यसैलाई राजनीतिक रङ्ग दिन खोजेका छन्।

जसले ट्रमा ल्याउने अगुवाई गरे

साबिक ढल्केबर–२ निवासी तत्कालीन राष्ट्रिय सद्भावना पार्टीका स्थानीय नेता रामसुन्दर महतोले ढल्केबरमा ट्रमा सेन्टर ल्याउन पहल गरेका थिए। उति बेला स्वास्थ्यमन्त्री रहेका हालका उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोलाई अनुरोध गरेर रामसुन्दरले करिब सात वर्षअघि ढल्केबरमा ट्रमा सेण्टर ल्याउन पहल थालेका थिए।

‘ढल्केबरमा ट्रमा सेण्टर ल्याउने पहल गर्न प्रत्येक घरधुरीबाट दुई सय रुपैयाँको दरले उठायौँ’, स्थानीय सुरेशकुमार साहले भने, ‘अहिले बजेटमै ढल्केबरको ट्रमा सेण्टर भनेर किटान गरिँदा पनि लालगढ लान खोज्नु दुःखद् हो।’

रामसुन्दरकै अध्यक्षतामा ढल्केबरमा ट्रमा सेण्टर निर्माण समितिसमेत बनिसकेको थियो। रामसुन्दरको निधन भइसकेको छ।

प्राविधिकहरुले पुनः जग्गाको सर्वेक्षण गर्नुपर्ने र ढल्केबरमै ट्रमा सेण्टर निर्माण गर्नुपर्ने संघीय सरकारसँग ढल्केबरवासीको माग छ।

कतिपय ढल्केबरवासी राजमार्गसँगै जोडिएको ठाउँमा ढल्केबर चोकमै जग्गा उपलब्ध गराउन सकिने भन्दै लालगढको साटो ढल्केबरमै ट्रमा सेण्टर बनाउनुपर्ने अडानमा छन्।

विकासमा सधैँ पछाडि परेको ढल्केबरमा ट्रमा सेण्टर निर्माणले खास अर्थ राख्ने कतिपयको तर्क छ। प्राविधिकहरुले पुनः जग्गाको सर्वेक्षण गर्नुपर्ने र ढल्केबरमै ट्रमा सेण्टर निर्माण गर्नुपर्ने संघीय सरकारसँग ढल्केबरवासीको माग छ।

यता स्वास्थ्य मन्त्रालयका एक अधिकारी ट्रमा सेण्टर निर्माणस्थलबारे विवाद चुलिँदै जाँदा बजेट फ्रिज हुने संभावना बढेर जाने बताए। उनले भने, ‘निर्माणस्थल तय नभई टेण्डर गर्न सकिँदैन, टेण्डर भएन भने स्वतः बजेट ‘फ्रिज’ हुन्छ।’ यसरी विवाद हुँदा तराई–मधेशका धेरै विकासनिर्माणको बजेट फ्रिज भएको उनले बताए।

प्रकाशित मिति: : 2021-06-12 05:50:00

प्रतिकृया दिनुहोस्