संक्रमित मरे वडासँग किरिया खर्च छ, उपचार खर्च छैन

सरिशा अछामी

कमलामाई नगरपालिका–६ सिन्धुलीका ४२ वर्षीय रामजी विश्वकर्मालाई तीन साताअघि ज्वरो आएको थियो, उनले मेडिकलबाट औषधि किनेर खाए । औषधिले एक सातासम्म ज्वरो ठीक नभएपछि जेठ १४ गते उनी जिल्ला अस्पताल सिन्धुली पुगे । त्यहाँ कोरोना परीक्षण गराउँदा जेठ १६ गते कोरोना पजेटिभ रिपोर्ट आयो । 

त्यसपछि उनलाई वडा ७ माझिटारस्थित अस्थायी कोभिड व्यवस्थापनमा चार दिनसम्म राखियोे । स्वास्थ्य अवस्था नसुध्रिएछि थप उपचारका लागि उनलाई काठमाडौं पठाइयो । एम्बुलेन्स चालकको सहयोगमा काठमाडौं ल्याइएका उनी जेठ २० गतेदेखि नेपाल–भारत मैत्री अस्पतालमा आइसियुमा छन् । रामजीकी पत्नी गोमा विश्वकर्मा भन्छिन्, ‘उहाँको स्वास्थ्यमा सोचेअनुसार सुधार आउन सकेको छैन । काठमाडौंमा कुन अस्पतालमा उपचार गराउने भन्ने थाहा थिएन । एम्बुलेन्स चालकले भनेका आधारमा यस अस्पताल ल्याएका हौँ ।’

नेपाल–भारत मैत्री अस्पतालका कर्मचारी लव ओलीका अनुसार, एक साता आइसियुमा राख्दा पनि राजमीको स्वास्थ्यमा सुधार आउन सकेको छैन । ‘अस्पताल ल्याउन ढिला भएका कारण भाइरसले शरीर गलाएको देखिन्छ,’ उनले भने, ‘तर, पहिलोको तुलनामा थोरै सुधार आएको छ ।’ 

गाउँमा स्वास्थ्य अवस्था बिग्रिँदै जाँदा अक्सिजनको अभाव हुन थाल्यो । आफन्त तथा डाक्टरले काठमाडौं लैजानु भनेपछि थप उपचारका लागि काठमाडौं ल्याएको गोमा बताउँछिन् । ‘अक्सिजन अभाव भएकाले थप उपचारका लागि काठमाडौंँ ल्याएँ, अहिले खर्चको अभाव भएको छ,’ उनले काठमाडौं प्रेससँग भनिन्, ‘हालसम्म एक लाख २० हजार रुपैयाँ खर्च भइसकेको छ । अहिले लकडाउन भएकाले आफन्तबाट पनि सहयोग पाउन सकिएको छैन ।’ 

प्रकाशित मिति: : 2021-06-10 14:26:00

प्रतिकृया दिनुहोस्