एकातिर कोरोनाले मरिने डर, अर्कोतिर रोजीरोटीको सवाल

पार्थ मण्डल

 

३३ वर्षीय कमल गणेश भारतीय नागरिक हुन्। उनी भारतीय भए पनि नेपाली भाषा प्रस्ट बोल्छन्। किनभने, उनी नेपाली विद्यालयमा पढाइसँगै यहाँकै साथीभाइसँग हुर्किएका हुन्।

झापाको कचनकवल गाउँपालिका ५ स्थित पाठामारीको नयाँ हाट बस्तीमा परिवारसँग बसोबास गर्दै आइरहेका गणेश सिलाई कटिङको काम गर्छन्।

नेपाल–भारतको सीमा पिलर ११२ नजिकै उनको फुसले बनेको छाप्रो जस्तो एउटा घर छ। उनको घर भारतीय भूमिमा पर्छ। भारतीय भए पनि उनी नेपालमै व्यवसाय सञ्चालन गर्दै परिवार पाल्दै आएका छन्।

उनको पसल कचनकवल ६ स्थित बनियानी बजारमा रहेको छ। उनले बनियानी बजारमा टेलर्स खोलेका छन्। तर, विडम्बना उनी भारतीय भएकाले अहिले पसल जान पाइरहेको छैन।

दोस्रो लहरको कोरोना भाइरसको संक्रमण भारतसँगै नेपालमा तीव्र गतिमा समुदायमा फैलिरहेको भन्दै सुरक्षाकर्मीले सीमा नाकामा कडाइसँगै आवतजावतमा पूर्णरूपमा बन्देज लगाएको छ।

सुरक्षाकर्मीले भारतीयलाई नेपाली भूमि प्रवेश निषेध गरेसँगै गणेश फेरि अहिले थप समस्या परेका छन्।

‘कोरोनाका कारण अघिल्लो वर्ष पनि यस्तै समस्या भोग्नुपर्‍यो,’ गणेशले थाहाकर्मीलाई भने, ‘अहिले फेरि त्यस्तै समस्या आइपर्‍यो, अब के गर्ने हो थाहा छैन।’ ‘कोरोनाले मरिने भन्ने डर एकातिर छ, भने अर्कोतिर रोजीरोटीको सवाल पनि छ,’ उनले भने, ‘अब जसो त्यसो घरमै बसेर खेतीपाती वा अन्य काम गर्नुपर्ला।’ नेपालका सशस्त्र र नेपाल प्रहरीले गाउँका कसैलाई पनि नेपाली भूमि नछिर्नु भन्दै आएको बताउँदै उनले भने, ‘कोरोनाबाट बच्न र अरूलाई पनि बचाउने हाम्रै दायित्व हो, सरकारले कोरोना महामारी रोक्न लगाएको लकडाउन र सीमा नाका बन्द जस्ता आदेश मान्नै पर्‍यो।’

 

प्रकाशित मिति: : 2021-06-09 13:36:00

प्रतिकृया दिनुहोस्