कोरोना भाइरसको महासंकटका बीच अमेरिकाको मिचिगन राज्यकी एक महिला मुसामा पाइने हन्टा भाइरसबाट संक्रमित भएकी छन्।
उक्त महिला मुसाको नियमित सम्पर्कमा रहने र मुसाबाटै सो भाइरस सरेको अनुमान गरिएको छ। हाल अस्पतालमा रहेकी उक्त महिलाको अवस्था गम्भीर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।
हालसम्मको अनुसन्धानबाट यो भाइरस मुसाले फेरेको सास हावामा जाने र त्यो हावा मान्छेको शरीर भित्र पस्दा सर्ने गर्छ। हालसम्म यो भाइरस व्यक्तिदेखि व्यक्ति सरेको घटना भने देखिएको छैन।
'सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रेबेन्सन'का अनुसार यो भाइरसबाट संक्रमित भयो भने एक सय एक डिग्रीभन्दा माथि ज्वरो आउने, टाउको र जिउ दुख्ने, पेट दुख्ने र बान्ता हुने गर्दछ। साथै कसैलाई छालामा रातो दाग पनि देखिन सक्छ।