मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा कार्यरत डाक्टर सन्ध्या अधिकारी मास्क र पिपिईभित्र गुम्सिएर धेरै पटक रोएकी छिन्। फेस शिल्डले छोपिएको आँसुलाई सन्ध्याले आफ्नो हातले पुस्न पनि पाएकी पनि छैनन्।
कोरोना संक्रमितको उपचारमा दैनिक ८ देखि १२ घण्टासम्म खटिने सन्ध्या बिरामी हाँस्दा सँगै हाँस्छिन्, बिरामी रुँदा सँगै रुन्छिन्। आफूले भोक, प्यास, निद्रा केही नभनी उपचार गरेर ठिक भएको बिरामी देख्दा उनलाई आफू स्वास्थ्यकर्मी भएकोमा गर्व लाग्छ। त्यस्तै हजारौ कोसिस गर्दा पनि ज्यान गुमाएका कोरोना संक्रमितको अनुहार हेर्दा उनलाई लाचार महसुस हुन्छ।
दुई वर्षअघि हेटौंडा अस्पतालमा काम गर्न आइपुगेकी सन्ध्या हाल अस्पतालकै क्वाटरमा बस्छिन्। संक्रमितको उपचार गर्न एचडियुभित्र प्रवेश गर्नुअघि उनले सधैं संक्रमितको अवस्थामा सुधार ल्याउने प्रण गरेर छिर्ने गरेको बताइन्। ‘कसरी हुन्छ आज यो बिरामीलाई ठिक पार्न पाए अथवा यो बिरामीलाई अलि कम भइदिए कस्तो खुसी हुनेथिएँ भन्ने लाग्छ। अनि भित्र गएर आफ्ना सबै दुःख र समस्यालाई बिर्सेर उहाँहरूको दुःखमा दुख्छु, उहाँहरूको खुसीमा हाँस्छु,’ उनले भनिन्।
सन्ध्यालाई पछिल्लो पटकको एउटा मृत्युले निकै चोट पुर्यायो। कोरोना संक्रमित एक वृद्धलाई बुवाजस्तो मानेर उपचार गराएकी उनले वृद्धको मृत्युले धेरै रुवायो। ‘उहाँको अक्सिजन लेबल अस्पताल आउँदा ८ थियो। जुन बाच्नेसक्ने अवस्था नै होइन तर पनि हामीले अनेक गरेर उहाँको अक्सिजन लेबललाई ८० सम्म ल्यायौं। उहाँ ठिकै हुदै पनि हुनुहुन्थ्यो। हामीसँग हाँस्ने , बोल्ने र म ठिक छु छोरी भन्दै आशीर्वाद पनि दिनुहुन्थ्यो। अब त बुवालाई बचाइयो भन्दाभन्दै उहाँको मृत्यु भयो,’ उनले भनिन्। आफू डाक्टर भए पनि बिरामीप्रति छोरीले बुवालाई गर्नेजस्तै माया पलाएको उनले सुनाइन्।