साँझको पाँच बज्दै थियो। दाङको तुलसीपुरमा घाम-पानी परिरहेको छ । त्यही बीचमा नारायण गौतम अटो चलाएर वीरेन्द्र चोकतर्फ लागे।
अटोमा गाई गोरूका लागि घाँस र कुकुरको लागि मासु भात राखिएको थियो। दुई तीन जना अटोमा बसे। बाँकी केहीले मोटर साईकलमार्फत अटो पच्छ्याए।
घोराही चोक नकिजै सुनसान सडक पेटीमा खैरो रंगको एउटा कुकुर झोक्राएर बसिरहेको थियो। अटो र मोटरसाईकल नजिकै आएर रोकिनासाथ कुकुरले कान ठाडा बनायो।
बिगत एक सातादेखि दारी ग्याङका सदस्यले तुलसीपुर बजारका कुकुरलाई मासुभात खुवाउँदै आएका थिए। त्यहीँ भएर कुकुरले उनीहरूलाई चिन्यो। खान पाइने आशमा खुसी देखिन्थ्यो।
कुकुरलाई खाना दिन बन्द गरिएको अटो पुनः स्टार्ट भएन। सबै मिलेर ठेलेर अटो स्टार्ट गरे। यो अटो पनि इन्धन भरिदिने सर्तमा उनीहरूले मागेर ल्याएका रहेछन्।
नगरपालिकाको भवनदेखि दक्षिणको चोकमा फेरि अटो रोकियो। नजिकै कालो कुकुरको छाउरो देखियो । अटो र मोटरसाईकलबाट दारी ग्याङका सदस्य झर्नासाथ त्यो छाउरो खान पाइने आशमा पुच्छर हल्याउँदै अघिपछि लुटुपुटु गर्न थाल्यो। मासुभात खान पाएपछि मख्ख थियो। ‘यसले त मलाई चिनिसकेको छ,’ अभिशेक वलीले खाना दिँदै भने, ‘यसले त मलाई अघिपछि देख्दा पनि पच्छ्याउन थालेको छ।’
अटो मिडिया चोकमा पुगेर केही गाईलाई घाँस दिएर बाहिनी चोकहुँदै बसपार्कतर्फ झर्यो।