आफ्नो सम्पूर्ण बुद्धि र बर्कत महामारी नियन्त्रणमा प्रयोग गर्नुपर्ने प्रधानमन्त्री ओली यसमा विश्वास नै गर्दैनन्
‘हामीले कहिले लगाउन पाउने हो खोप ?’ कोरोना आतंकले त्राहिमाम भएका जनताले कोभिड प्रतिरोधक खोपबारे यो सामान्य प्रश्न गर्नु स्वाभाविक हो। यस प्रश्नको जवाफ दिने देशको सबैभन्दा आधिकारिक व्यक्ति प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नै हुन्।
भारत सरकारले सदाशय देखाएर नेपाली नागरिकलाई सहयोगस्वरूप दिएको दश लाख डोज, नेपाली सेनालाई दिएको एक लाख डोज र कोभ्याक्सबाट प्राप्त तीन लाख ३८ हजार कोभिसिल्ड खोपको उद्घाटन समारोहमा उनैले ‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्ने’ गुड्डी हाँकेका थिए। उनको त्यो वाणीको पतन के कारणले भयो ? के कारणले भारतीय कम्पनीसँग नेपालले खरिद गरेको कोभिसिल्ड खोप आधा मात्रै आयो ? यसको जवाफ पनि प्रधानमन्त्री ओलीले नै दिनुपर्ने हो। तर, उनले जवाफ दिएका छैनन्। उनका ‘आफ्नै मानिस’ संलग्न भएको विषयमा जवाफ दिन नसक्नु अस्वाभाविक त हुँदै होइन।
प्रधानमन्त्री ओलीले महामारीको पहिलो लहर चलेको समयमा बेसार–पानी खाएर कोरोना भगाउने सल्लाह दिएका थिए, जनतालाई। दोस्रो लहर चलेपछि उनले अम्बाको पात पानीमा उमालेर खाए कोरोना भाग्ने बताए। उनको यो ज्ञानको स्रोत के हो ? कसैलाई थाहा छैन। धन्न, उनले केही दिनअघि आफूले कोरोनाको यथार्थ नबुझेको बताए।
हिमाली जडीबुटी पखाल्दै हिमालबाट आएको स्वच्छ पानी पिएका नेपाली जनताको प्रतिरोधात्मक शक्तिप्रति उनको ठूलो विश्वास थियो। तर, कोरोना महामारीको अगाडि नेपालीको प्रतिरोधात्मक शक्तिको केही जोड लागेन। ‘दूरदराज’ गाउँका जनतामा कोरोना महामारीको खबर नपुगेको होइन। उनीहरू कोरोना जाँच गराउन चाहँदैनन्। ‘जाँच गर्दा शरीरमा कोरोना भेटियो भने हामी त मरिहाल्छौँ। कसले गरिदिन्छ हाम्रो ओखती ?’ यो अवस्थामा छन् नेपाली जनता।
नेपालका चिकित्सक र स्वास्थ्यकर्मी कोरोना महामारीसँग लड्ने पूर्वाधार निर्माण र बिरामीको उपचार साथसाथै गरिरहेका छन्। सहरबजारमा कोरोनाको उपचार सामान्य नेपाली जनताको पहुँचबाहिर छ। अक्सिजन, भेन्टिलेटरलगायत तमाम सुविधा चाहिन्छ उपचारका लागि। सहरबजारका अस्पतालको अध्ययन गर्ने राजनीति, अर्थनीति र समाजशास्त्रीले कोरोनाले हुने र नहुनेलाई कसरी विभाजित गरेको छ ? त्यो थाहा पाउन धेरै बेर लाग्दैन।