डा. प्रवीण श्रेष्ठ
प्यान्डेमिककालमा संक्रमण नियन्त्रण गर्ने अनेक वैज्ञानिक र सामाजिक उपाय हुन्छन्।
कतिपय ठाउँ र देशमा धार्मिक र आध्यात्मिक उपाय अपनाएको कुरा पनि सुन्नमा आएका छन्।
तर, संक्रमण त्यतिबेला देखिन्छ र पत्ता लाग्छ जतिबेला परीक्षण गरिन्छ। उपयुक्त परीक्षण नगरेसम्म न संक्रमण पत्ता लाग्छ न त यसको नियन्त्रणका उपाय नै अपनाउन सकिन्छ।
तसर्थ प्यान्डेमिक नियन्त्रणको एक प्रमुख हतियार भनेको परीक्षण नै हो। त्यसैले गर्दा डब्लुएचओले पनि परीक्षणका विभिन्न तरिका र मापदण्ड तोकेको छ।
परीक्षण गर्ने तरिका र त्यसको नतिजाको विश्लेषण सही भएन भने त्यो खेर जान्छ। प्यान्डेमिककालमा परीक्षण जति सक्यो उति धेरै गर्नुपर्छ।
परीक्षण जति गर्यो उति संक्रमण पत्ता लाग्छ र त्यसको नियन्त्रण, निराकरण र निर्मूलीकरणका उपाय गर्न सकिन्छ।
यदि, परीक्षण पर्याप्त गर्न सकिएन भने संक्रमण समाजभित्र लुकेर बस्ने सम्भावना हुन्छ र यसको नियन्त्रणका सम्पूर्ण उपाय असफल हुन्छन्।
परीक्षण गर्नु मूलतः केन्द्रीय सरकार, स्थानीय निकाय र प्रत्येक नागरिकको कर्तव्य हो। यी तीन तह या पक्षमध्ये कुनै एकले आफ्नो कर्तव्य पूरा गरेन भने परीक्षणको काम पूरा हुँदैन। परीक्षणको यति धेरै महत्व हुँदाहुँदै पनि परीक्षण गर्न सक्नु नसक्नु यी तीनै पक्षका आ–आफ्ना कमजोरी र बाध्यता हुन सक्छ।
अहिलेको विज्ञान र प्रविधिको जमानामा समयसापेक्ष प्रविधि कम खर्चिलो हुँदैन। त्यसमाथि हाम्रोजस्तो कम विकसित देश र स्रोत साधनको कमी भएको नागरिकले चाहेर पनि प्रशस्त परीक्षण गर्न नसकिने तथ्य हामीसामु छर्लंग छ।
त्यसमाथि परीक्षण परिवारका सबै सदस्यको र पटक–पटक गर्नुपर्ने अवस्था आएमा परीक्षण गर्नु असम्भव हुन सक्छ।
तसर्थ प्यान्डेमिक कालमा परीक्षण गर्नु गराउनु मूलतः सरकारको दायित्व हुन आउँछ भने नागरिकले पनि आफूलाई शंका लागेमा यथाशीघ्र परीक्षण गर्नु उसको कर्तव्य हुन आउँछ।
सामान्यतया परीक्षण जति गर्यो, उति संक्रमण भेटिन्छ अर्थात् नयाँ संक्रमणको संख्या प्रत्यक्ष रूपमा परीक्षणको संख्यामा भर पर्छ।
परीक्षण त्यति बेलासम्म गर्नुपर्छ जबसम्म परीक्षणसँगै संक्रमण पनि बढ्छ। जब परीक्षणसँगै संक्रमण बढ्न छाड्छ अर्थात् कम हुन थाल्छ तब परीक्षण कम गर्दै लान सकिन्छ।