सम्पदा : ओझेलमा इचङ्गु

गोरखापत्र

विनोद नेपाल

घुमफिरको रुचि, कोरोनाका कारण टाढा पुग्न असम्भव परिस्थिति। यसैले नजिकै र उपत्यकाभित्रकै स्थानहरूको अवलोकन गर्नेक्रममा इचङ्गुनारायण पुग्ने इच्छा जाग्यो। घरसल्लाह मिलेपछि इच्छा पूरा गर्ने निर्णय लिइयो।
यसपछि लक्षित गन्तव्यको अवस्थिति पत्ता लगाउन हातेफोनमा काठमाडौँ उपत्यकाको ‘गुगल म्याप’ खोलेँ। हेर्दा त झन्डै सात किलोमिटर दूरी अनि छोटो बाटो गए २३ मिनेटमा पुगिन्छ भन्ने जानकारीसहित नक्सामा बाटोसमेत देखियो। खरिबोटबाट ढुङ्गेधारा निस्कने, स्वयम्भू पुगेर दायाँ मोडिने अनि दायाँदायाँ हुँदै जाने, पुग्ने बेला बायाँतर्फ मोडिनुपर्ने रहेछ। यत्ति भएपछि ‘पुग्न सकिन्छ’ भन्ने लाग्यो।

वैशाख ७ गतेका दिन बिहानको खाना खाइवरी बाटो लाग्यौँ। स्वयम्भू पुगेपछि दायाँ मोडिइ रामकोटतर्फको बाटो समायौँ। स्वयम्भू चोकबाट केही अगाडिसम्म पहिले पनि बेलाबेलामा पुगिएकाले नौलो थिएन। तरm झन्डै डेढकिलोमिटर भित्र पुगेपछि त्यहाँ अघिको बाटोका सम्बन्धमा भने अनभिज्ञ। यसैले त्यहाँबाट अगाडि ‘गुगल म्याप’मा उल्लेख भएका स्थान र संरचना हेर्दै तिनका आधारमा नक्साले देखाएको बाटो पछ्यायौँ।

अलि अगाडि पुग्दा बायाँतर्फ यसअघि नक्सामा देखिएको ‘आदेश्वर महादेव’ मन्दिरको प्रवेशद्वार देखियो। त्यसपछि सही बाटोमै छौँ भन्नेमा ढुक्क भयौँ। ‘फर्कंदा पसौँला’ भन्दै प्रमुख गन्तव्यतर्फ अगाडि बढ्यौँ। त्यहाँभन्दा अगाडिको सडक बिग्रेको र धेरै चल्तीको जस्तो पनि थिएन। बस्ती बाक्लो भइनसकेकाले होला सडक पनि खाली नै थियो। केही पर पुग्दा आधुनिक घरहरूले थिच्दै मिच्दै र विस्थापित गर्दै लगेजस्तो देखिने एउटा बस्ती देखियो। ‘पक्कै यही बाटो हुनुपर्छ,’ हामी ढुक्क हुँदै अगाडि बढिरह्यौँ।

सडकछेउ जीर्णोद्धार र संरक्षण अभावमा खण्डहरमा परिणत भइरहेका शिवलिङ्गसहितका मन्दिरहरू देखिए। अगाडि खस्नखस्न लागेको बसाहा रहेको, रङ खुइलिएको तथा छानामा झाडी बनेको एक्लो र त्यसभन्दा थोरै पर जोडी महादेव स्थान रहेछन् सँगसँगै। उपेक्षित लाग्ने ती सम्पदा स्थललाई फोहोर मिल्काउने ठाउँ बनाइएको रहेछ। यद्यपि, तिनका बीचमा खेल मैदान पनि छ तर फोहोरको उचित व्यवस्थापन नगरिँदा देवस्थलहरू रछ्यानमा परिणत भएका रहेछन्। यिनले इचङ्गुनारायण आइपुगेको आभास त गराए तर तिनको अवस्था देखेर भने मन कटक्क खायो।

प्रकाशित मिति: : 2021-06-05 08:45:00

प्रतिकृया दिनुहोस्