एक पोको भात लिन आउनेहरू

सेतोपाटी

काठमाडाैं

कोरोना महामारी छ, घरभित्रै बस्नू- सरकारको आदेश छ।

तर डल्लुमा हरेक दिन तीन-चार बजे भेला हुने भिडलाई न रोगको डर छ, न आदेशको पर्वाह। डर र आदेश पन्छाउँदै सडकमा निस्किएको भिडलाई बाटाभरि प्रहरीले केरकार गर्छन्। 

उनीहरू बयान दिन्छन्- हामी भात लिन हिँडेको। 

सडकमा भेटेजति प्रहरीलाई यही भन्दै उनीहरू डल्लुको पुल पुग्छन्। त्यहाँ थाहा युथ इन्भेस्टमेन्ट नामक संस्थाले खाना बाँड्छ। त्यो क्षेत्र आसपासका भोकाहरू त्यहीँ जान्छन्, एक पोको (प्याकेट) भात लिन।

भोकको मात्र नाता भएको त्यो भिडमा उनीहरू कसैलाई चिन्दैनन्। चुपचाप छाक पर्खिएर बस्छन्।

एउटा गाडी आउँछ। 'ऊ.... खाना आयो,' गाडीतिर दौडिन्छन्। केही क्षण खानाको पोको लिन तँछाडमछाड चल्छ। कोरोनासँग बच्न भौतिक दुरी, मास्क, पन्जा, स्यानिटाइजर, फेस सिल्ड कता हो कता! 

एक जनाले एक पोको खाना पाउँछ। एक्लै हुनेलाई त्यसले एक पटकको भोक मेट्छ। परिवार नै हुनेलाई आफू खाऊँ कि बोकेर घर लैजाऊँ, दुबिधाले झन् पेट पोल्छ। तै पनि धेरैजसो बोकेरै घर पुग्छन्, बाँडीचुँडी खान्छन्। सास अल्झाउँछन्।

ढिला भए त्यो पनि नपाइने हो कि भन्ने डरले सधैं सताउँछ उनीहरूलाई। अनि भोकाहरूको दौड चल्छ। कोही खाना बाँड्ने समयभन्दा एक घन्टा अगाडिदेखि लाइनमा बसिरहेका भेटिन्छन्। अगाडि पुग्नेले रित्तो पेट फर्कनु पर्दैन। मनकारीले ल्याएको खानेकुरा सकियो भने पछि पुग्नेहरू कति त यसै फर्किन्छन्।

प्रकाशित मिति: : 2021-06-02 14:50:00

प्रतिकृया दिनुहोस्