अक्सिजन अभावले अस्पतालका बेड खाली, उपचार नपाउँदा बिरामी जोखिममा

रातोपाटी

काठमाडौँ

मोरङको बुढीगङ्गास्थित विराट मेडिकल कलेजद्वारा सञ्चालित कोभिड अस्पतालमा बिरामीका लागि दैनिक ६५० सिलिन्डर अक्सिजन खपत हुने गरेको छ । तर तीनदिन यता सो अस्पतालले दैनिक ४५० सिलिन्डर अक्सिजनबाटै बिरामीको उपचार गर्नुपरेको छ । 

अक्सिजन अभावकै कारण सो अस्पतालले सूचना जारी गरी नयाँ संक्रमित भर्ना नलिने जनाइसकेको छ । कुल २९१ शय्या क्षमताको कोभिड अस्पतालमा हाल १०४ जना संक्रमित उपचाररत छन् । जसमा ६४ जनाको उपचार आइसीयुमा भईरहेको छ । तर १८७ भन्दा बढी शय्या खाली हुँदाहुँदै पनि अक्सिजन अभावकै कारण अस्पतालले थप बिरामी भर्ना लिन सकेको छैन भने गम्भीर समस्या देखिएका बिरामीले उपचार अभावमै ज्यान गुमाउनुपर्ने स्थिति कायम छ ।

अस्पतालका निर्देशक डा ज्ञानेन्द्रमानसिंह कार्की भन्छन्, ‘अस्पतालले बिरामीका लागि उपचारको प्रबन्ध मिलाउने हो तर अहिले अक्सिजनको जोहो गर्न कठिन छ ।’ पर्याप्त अक्सिजन नभएका कारण नयाँ बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘बेड खाली भएर के गर्नु, अक्सिजन अभाव छ,’ उनले भने, ‘भर्ना लिएरमात्र हुँदैन, गम्भीर समस्या भएका बिरामीलाई अक्सिजन आवश्यक हुन्छ, अक्सिजन नभएको अवस्थामा भर्ना लिएरमात्र के गर्नु ?’

प्रकाशित मिति: : 2021-05-31 17:25:00

प्रतिकृया दिनुहोस्