गतवर्ष कोरोनाभाइरसको महामारीसँगै सुरू भएको लकडाउनले देश नै ठप्प बन्यो। त्यतिखेर किसानले लगाएका तरकारी बारीमै कुहिएर खेर गएका थिए। ठूलो खर्च गरेर लगाइएको तरकारी खेर जाँदा धेरै किसान निरास भए।
त्यो लकडाउनबाट पाठ सिक्दै अघि बढेका किसान यसपाली भने निषेधाज्ञामा घाटा हुनबाट जोगिएका छन्। चितवनको शुक्रनगरमा व्यवसायिक तरकारी खेती गर्दै आएका युवाहरू लकडाउनबाटै पाठ सिकेर सामूहिक खेतीतर्फ अग्रसर भएका थिए।
सामूहिक खेती गर्दा घाटा कम भएको अनुभव उनीहरूलाई भएको छ।
‘एक्लाएक्लै खेती गर्दा ठाउँमा कुरा पुर्याउन नसक्ने, बिचौलियाले पेल्ने, मूल्य नपाउने समस्या थियो। त्यसमाथि लकडाउन हुँदा तरकारी बारीमै कुहिएको टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता थियो,’ तरकारी किसान लेखनाथ भुषालले सेतोपाटीसँग भने, ‘समूहमा खेती गर्न थालेपछि यी समस्याहरू हट्दै गए।’
शुक्रनगरमा गत वर्षको लकडाउनपछि भुषालको नेतृत्वमा एक दर्जन युवाहरू मिलेर सामूहिक खेती गर्ने निर्णय गरेका थिए। युवा आधुनिक सामूहिक खेती नामको संस्था तयार पारेर उनीहरूले प्रविधिको प्रयोग गर्दै कृषिमा सुधार ल्याउने संकल्प गरे।
उनीहरूले करिब एक सय विघा जमिन तयार पारेर तरकारी अनुसारका १८ वटा छुट्टाछुट्टै ब्लक तयार पारे। अहिले ती ब्लकमा टमाटर, बोडी, लौका, करेला, काँक्रो, घिरौंला, चिचिण्डा, खुर्सानीलगायतका तरकारी लगाइएका छन्।
‘यसपालि निषेधाज्ञाको सुरूआतमा करेला र काँक्रोमा घाटा लागे पनि अन्य तरकारीबाट घाटा हुन पाएन,’ भुषालले भने, ‘विभिन्न ठाउँमा सम्पर्क गरी तरकारी बिक्री गर्यौं।’