६० वर्षअघि रुईबाट भागेर साम्दो पस्दा कर्माडुण्डुप लामालाई गर्व लागेको थियो। नेपालजस्तो स्वतन्त्र मुलुकको नागरिक हुन पाउँदा लामाले ठूलो सास फेरेका थिए। तर, ६ दशक अवधिमा रुईको विकास तीव्र गतिमा भयो। यताको अवस्था भने जहाँको तहीँ हुँदा लामालाई पछुतो लाग्दो रहेछ। उनी अहिले न फर्केर उता जान सक्छन् न त यहाँ आशालाग्दो वातावरण छ।
चीनले रुईलाई सन् १९६० मा अधिनमा लिएपछि उनी बुवाआमाको पछि लागेर गोरखाको साम्दो गाउँ आएर बसेका थिए। त्यति बेला उनी १५ वर्षका आलाकाँचा थिए। अहिले ७६ वर्षका भुक्तभोगी भए। सुखको आशामा यता आए पनि झन् दुःख झेल्नुपर्दा आधा रात सुतेर, आधा रात सोचेर बिताउने गरेको उनी बताउँछन्।
‘आधा रात निद लाग्छ, आधा रात दुःख सम्झेर बित्छ’, उनी भन्छन्, ‘रुईबाट आउने बित्तिकै १३ वर्षसम्म सामा गाउँलेको मुद्दा झेल्नुपर्यो। बल्लतल्ल जितेर नागरिकता, लालपुर्जा पायौं। हाम्रो उता घर थियो, खेत थियो। सबै ककसले बाँडीचुँडी खाइहाले। चाइनाको हक छ भन्छ। हामीले के गर्ने ?’ नेपालको सरकार चुप लागेपछि आफूहरू उपायविहीन भएको उनको गुनासो छ। चीनले आफ्नो अधिनमा लिएपछि सांस्कृतिक क्रान्तिका नाममा रुईको धर्म, संस्कृति नास गर्न थाल्यो। त्यसपछि रुईका १ सयमध्ये २८ घरधुरीका बासिन्दा भागेर साम्दोमा आई बसेका हुन्। कोही भारत पसे, कोही रुईमै बसे।
साम्दो आएका २८ परिवार बढेर ४० भन्दा धेरै घरधुरी भएका छन्। यहाँका अन्य नागरिकको जनजीवन लामासँग मिल्दोजुल्दो छ। ‘करु र आलु मात्र हुन्छ। त्यो पनि वर्षमा एक फेर मात्र उत्पादन हुन्छ। हिउँ परेर बालीनाली कुहिन्छ’, उनी भन्छन्, ‘त्यसैले जग्गाजमिन बाँझै छन्। बेचौँ भने किन्ने मान्छे छैन।’
उनी सम्झन्छन्, नेपाल र चीनको साँध पहिले सुक्चे खोला हो। सुक्चे खोलापारि निङ गाउँ छ। खोलावारि रुई छ। पछि मात्रै ‘डाँडा दोसाँध’ बनाएको हो। तब रुई गाउँ पनि चीनको भएको उनी सुनाउँछन्। ‘पहिले दोसाँधमा तीन वर्षसम्म काठको किलो ठोकेर राखेको थियो। पछि सिमन्टीको पिलर गाडेको हो’, उनी भन्छन् ।
उनी भन्छन्, ‘दोसाँध छुट्याउने बेला हामी त सानै थियौँ। एक–दुई दिनमै छुट्याएको होइन। नेपालका हाकिमहरू २०–२५ दिनसम्म लार्केबाउ (यईथाङ)को चौरमा पाल टाँगेर बसेका थिए। दिउँसो घोडा चढेर डाँडामा जान्थे। साँझमा लार्केबाउमै फर्कन्थे। चाइनाका फौज, सरकारी मान्छेहरूचाहिँ डाँडामै पाल टाँगेर बस्थे। जे गरे पनि चाइनाको खुसी भयो। नेपाली सीमा हाकिमहरू कोही बोल्न सक्दैनन्। लेक लाग्छ, टाउको दुख्छ भन्छन्, चुप्प बस्छन्। चाइनाले जे भन्छ, त्यही मान्छन्। नत्र पहिले सुक्चे खोलावारि रुई सप्पै नेपाल हो। रुईबाट दुई घण्टा हिँडेपछि पुगिने सुक्चेपारि निङदेखि उता मात्रै चाइना थियो।’ अहिले कोही पनि यसो भन्न नसक्ने उनको गुनासो छ।