कोरोना संक्रमित गर्भवतीले जन्माइन् सुरक्षित बच्चा (भिडियाे)

बिराटनगरकी कोरोना संक्रमित एक गर्भवती महिलाले सुरक्षित रुपमा बच्चा जन्माएकी छन्।

न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पतालमा कोरोना संक्रमित एक महिलाले नर्मल डेलिभरिबाट बच्चा जन्माएकी हुन्।

३३ वर्षीया महिलाको कोखबाट जन्मिएकी शिशु (छोरी) र आमाको अवस्था सामान्य रहेको मदर एण्ड चाइल्ड अस्पतालले जनाएको छ।

कोरोनाको कहरको बीचमा मदर एण्ड चाइल्ड अस्पतालका वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. शुभद्रा अग्रवालको नेतृत्वमा नर्मल डेलिभरीमार्फत् बच्चा जन्मेकाे अस्पताल प्रशासनले जनाएको छ।

कोरोना महामारीका बीच अस्पतालले सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ। एक्कासी पेट दुखेपछि महिलाको कोरोना रिपोर्टसमेत पोजेटिभ आएपछि बिराटनगरको मोरङ सहकारी अस्पताल लगिएको थियो। तर महिला कोरोना संक्रमित भएकै कारण त्यहाँ उनको भर्ना लिइएन। त्यस लगत्तै नजिकै रहेको मदर एण्ड चाइल्ड अस्पताल लगिएको श्रीमान् पंकज कर्णले बताए।

‘मदर एउण्ड चाइल्ड अस्पतालमा कोरोना संक्रमित गर्भवती महिला आएसँगै अस्पताल प्रशासनले तदारुक्ताका साथ उपचारमा लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेँ।’, कर्णले भने, ‘अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक छ। संक्रमित महिलाको नर्मल डेलिभरिमार्फत् छोरी निकालिएको छ।’

अस्पताल प्रशासनले कोरोना भाइरस सङ्क्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि छुट्टै कक्षको निर्माणको तयारी गरिएको जनाएको छ।

न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पतालका कार्यकारी निर्देशक अनिषा विष्टले  भनिन्, ‘नेपालको संविधानमा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य संम्बन्धि हक हुनेछ भनि ब्यवस्था गरिएको छ।’

साथै महामारीको बेला प्रजनन् स्वास्थ्य अतिआवश्यक सेवाको रुपमा रहेकोले यो सँग सम्बन्धित सम्पूर्ण सेवामा केही पनि अवरोध नआउने उनले बताइन्।

प्रकाशित मिति: : 2021-05-30 14:11:00

प्रतिकृया दिनुहोस्