कोरोना महामारी लगत्तै ठप्प फिल्म क्षेत्र : कोठाभाडा पनि तिर्न नसक्ने अवस्थामा प्रविधिकहरू

पहिलोपोष्ट

काठमाडौँ

लक्ष्मी बलायर

कुलदीप अधिकारीले नेपाली फिल्म क्षेत्रमा काम गर्न थालेको १२ वर्ष भयो। फिल्म ‘नैना रेशम’बाट ड्रेसम्यानको काम सुरु गरेका हुन् उनले। जीवन पर्दा पछाडि बसेर स्क्रिनमा देखिने कलाकारका लागि लुगा मिलाएरै चलाइरहेका थिए। एक्कासी कोरोना भाइरस संक्रमण फैलियो। संक्रमण नियन्त्रणका लागि लकडाउन भयो। त्यसअघि नै ठप्प भइसकेको थियो फिल्म क्षेत्र। त्यसपछि सुरु भयो कुलदीपको अभावका दिन।

उनी श्रीमती र छोरीसँग लोकन्थलीमा कोठा लिएर बस्छन्। कोठाको भाडा तिर्नुपर्छ, पाँच हजार। भन्छन्, ‘एक वर्षदेखिको कोठाको भाडा पनि तिर्न सकेको छैन। बेलाबेला घरबेटी आएर किचकिच गर्छन्। तर चुपचाप सुन्नु बाहेक विकल्प छैन। काम बन्द छ अब कसरी कोठा भाडा तिर्ने होला?’

गत वर्ष लकडाउनमा पेट भर्न नि मुस्किल भएपछि घर गएका थिए। तिहारपछि मात्रै शहर फर्किए। अवस्था सामान्य भएपछि काम पाइने आशाले। बिचमा केही काम पनि गरे। हाँस्य टेलिश्रृखंला ‘सक्कीगोनी’ र प्रकाश सपूतको गीत ‘मेरो पनि होइन र?’ मा अभिनय समेत गरेका रहेछन्। तर, अभिनय उनको पेशा होइन। त्यो त मौका मात्र हो। ड्रेसम्यानकै जिम्मेवारी पाएका थिए ‘कबड्डी ४’मा। तर, संक्रमणको असरले त्यो पनि रोकियो।

निषेधाज्ञा हुनुअघि घरबाट खाद्यान्न पठाए। अहिलेसम्म भोकै बस्नु परेको छैन उनले। बुधवार मात्रै सुमिना घिमीरेले दिएको राहतले केही सहज बनाएको छ। प्रश्न एउटै – काम नै नभइ कोठा भाडा कसरी तिर्ने?  

प्रकाशित मिति: : 2021-05-30 08:59:00

प्रतिकृया दिनुहोस्