जन्म र मृत्युको चक्कर

देशसञ्चार

काठमाडौँ

 देवेन्द्रप्रसाद सिटौला 

 

हामी शरीर र मन लिएर जन्मिएका छौँ। शरीर भौतिक र स्थूल छ, मन भौतिक पनि होइन। र, अभौतिक पनि होइन, यो सूक्ष्म छ र यसले शरीरलाई चलाउँछ, इन्द्रिय र अंगहरूमार्फत।

पाप–पुण्य सबै यसैले गराउँछ। हामी मर्दा शरीर नष्ट हुन्छ, मन हुँदैन। किनकि शरीर पञ्चमहाभूतले बनेको छ। र यसमा भएका ४ तत्व – पृथ्वी, जल, अग्नि, वाफ आफ्नो मूल स्वरुपमा विलय हुन्छ अर्थात् मिसिन पुग्छ, मनचाहिँ आकाश तत्वसँग पनि सम्बन्धित छ र यो सूक्ष्म छ। आकाश तत्वमा यो विचरण गर्छ, भौतिक देहको समाप्तिपछि।

त्यसैले मनले तृष्णा र कामना बोकेको हुन्छ र त्यसैले अतृप्त रहेका कारण हामीले फेरि जन्मिरहनुपर्छ। फरक–फरक शरीर, फरक–फरक बाबुआमाबाट फरक–फरक स्थानमा धारण गरिरहनुपर्छ।

हाम्रो अचेतन मनमा यो संग्रहित छ र साधनाबाट देख्न, जान्न तथा अनुभव गर्न सकिन्छ। पूर्वजन्म नहुनका लागि र यो देहको आवागमन बन्द हुनका लागि शरीर मात्रै मरेर हुँदैन, मन पनि मर्नुपर्छ। मन मर्ने भनेको तृष्णा, कामना, वासना, भोग बुद्धि तथा संग्रह बुद्धि मर्ने हो।

सम्पूर्ण अध्यात्म साधना, ध्यानको ध्येय मनलाई मार्ने चेष्टा हो। यो शरीर रहँदैमा यदि मन मर्‍यो भने मोक्ष वा निर्वाणको अवस्था प्राप्त हुन्छ र त्यसको अत्यन्त गहिराइ तथा सूक्ष्म अवस्थामा पुगेपछि मनमा संकल्प र विकल्प (विचार आउने प्रक्रिया) बन्द हुन्छ र अन्तरचेतना तथा अन्तरमनको गहिराइमा उत्पन्न हुने निर्विकार अवस्थाले उग्र प्रकाश उत्पन्न गरी जन्म जन्मान्तरका सबै कामना र वासनाहरूलाई भष्म बनाइदिन्छ। अध्यात्मको समग्र खोज यही हो, पराकाष्ठा यही हो।

प्रकाशित मिति: : 2021-05-29 15:25:00

प्रतिकृया दिनुहोस्