कथा
कति रमाइलो थियो त्यो बाल्यकाल, न कुनै सपना न लक्ष्य, न कुनै आवश्यकता। न त कुनै मोह नै थियो। जति–जति दिनहरू बित्दै गए त्यति–त्यति मोह र स्वार्थको संसार विस्तारित हुँदै गयो। चाहेर पनि रोक्न सकिनँ। रोकेर पनि सन्तुष्ट हुन सकिनँ। असन्तुष्टिले सधैँ सन्तुष्ट हुनुको सार खोजिरह्यो र म सधैँ त्यसको पछि दौडिरहेँ।
इन्द्रेणीको सातै रङ मलाई धेरै मनपथ्र्यो। रङहरूलाई म निस्वार्थ देख्थेँ। कुनै भेदभाव थिएन। कुनै कलह थिएन। आफ्नो इच्छाअनुसार वर्णन गरेर म रङको निस्वार्थ संसारलाई बिगार्न चाहन्नँ। रङलाई रङ रहन दिनुपर्छ। सही र गलत छुट्ट्याएर विचलित पार्न सक्दिनँ। तर, मलाई किन यस्तो लाग्न थाल्यो कास् ! तिमी बिनाकारण कुनै दुर्घटनामा मरिदिएकी भए हुन्थ्यो। तिम्रो असामयिक निधन भइदिएको भए हुन्थ्यो वा तिमी आफ्नो लोग्नेको जीवनबाट कहिल्यै नफर्किने गरी ढाटा गइदिएकी भए हुन्थ्यो।
त्यो क्षण सम्झिँदा मेरो मनमा खुसीको वर्षात् लहराउँथ्यो। यदि, त्यस्तो भइदिएको भए म धेरै खुसी हुने थिएँ। यदि, त्यस्तो भए तिम्रो लोग्नेको बारेमा सोच्दा तिम्रो अनुहार कहिले बीचमा आउने थिएन। तिम्रो अनभिज्ञ मृत्युको कुरा कल्पना गर्दा मेरो मन प्रफुल्ल हुन्छ !
हो, म तिम्रो लोग्नेको जीवनमा आउन चाहन्छु। तर, तिमी बाटो छेकी बसेकी छ्यौ। यही कारण मलाई तिम्रो कुभलो चिताउन कर लाग्छ। मलाई तिमीप्रति ईष्र्या लाग्छ। कलुषित भाव जागृत हुन्छ।
हो, मलाई तिम्रो लोग्नेमा यति धेरै रुचि थियो कि म आफ्नो लोग्ने र घरपरिवार सबैलाई आँखा चिम्लेर छोड्न र बिर्सिन तयार भएँ। सबैले मलाई गलत भन्थे। तर, म उनीहरूलाई गलत देख्थेँ, जसले मलाई गलत देख्थे। मैले लिएको निर्णय मलाई सही लाग्थ्यो। लाग्थ्यो– मेरो भलो कसैले चिताउन खोज्दैन।