लगातारको पानी रोकिने संकेत छैन। गाउँमा पहिरो जान थालेको सुनेसँगै गोरखा सहिद लखन गाउँपालिका ताक्लुङ्गकी ३८ वर्षीया सविता लामिछानेको मन चिसिएको छ।
भिरालो पाखामा उनको घर जतिबेला पनि पहिरोको जोखिममा छ। घरमुनिको कच्ची सडक पनि उनका लागि अभिशाप बनेको छ। कृषिका नाममा पहाड उधिनेर बनाइएको सडकले उनको आँगन काटेको छ।
आँगन जोगाउन सविता लागिपरेकी थिइन्। गाउलेसँग गुहार माग्दै थिइन्। तर पति बाबुरामले भनेका थिए, ‘छाडिदेऊ। चिन्ता नगर। काठमाडौँमा घर बनाऔँला। अब एक/दुई वर्षको कुरा हो।’
तर, ती एक/दुई वर्ष बाबुरामले सोचेभन्दा धेरै फरक खालका सावित भए। बाबुरामलाई कोरोनाले ढाल्यो। समयमै आवश्यक उपचार पाएको भए शायद बाबुराम बाँच्थे र उनी आफ्नो सपना पछ्याउन सफल हुन्थे।
अहिले शायद उनको परिवार पहिरोसँग पनि जुध्ने दिन आउँथेन। पहिरो आएमा कसरी बाच्ने र कसरी सहयोग जुटाउने अहिले सविताको प्राथमिकता बनेको छ।
गाउँमा घर छरिएका छन्। पहिरो आउँदा छिमेकीको सहयोग पाउन मुस्किल छ। भर्खरै बाबुरामको काजकिरिया सकेकी सविताले भिडियो कलमा भनिन्, ‘श्रीमान् भइदिएको भए यस्तो संकटमा पर्ने थिएनौँ। चाँडै घर बनाउन नसके पनि कम्तीमा एउटा कोठा लिएर त हामीलाई जोगाउनुहुन्थ्यो।’