सोचेभन्दा अगाडि नै कोरोनाविरूद्धको खोप नेपालमा आएपछि 'खोप अभियान' फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरूबाट सुरू गर्ने भनियो। तर धेरै स्वास्थ्यकर्मीहरूमा नै खोपबारे शंका र जिज्ञासाहरू थिए।
त्यसैले खोप लगाउने दिन जति नजिकिँदै जान्थ्यो त्यति नै स्वास्थ्यकर्मीबीच छलफल बाक्लिँदै जान्थ्यो। पछि विभिन्न अनुसन्धानमा आएको तथ्यले स्वास्थ्यकर्मीहरूलाई खोप लगाउन प्रेरित गर्यो।
छिमेकी भारतमा भर्खर खोप लगाउन सुरू गरेको र त्यहाँ पनि खोपलाई लिएर विभिन्न शंका र नकारात्मक कुराहरू आएकाले नेपालमा पनि खोपबारे केही अन्यौल हुनु स्वभाविक हो।
नेपालमा आएको खोप सुरूमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई लगाउने भनेपछि एक जना सञ्चारकर्मीले मलाई स्वास्थ्यकर्मीहरू खोप लगाउन डराइरहेका बेला के तपाईं खोप लगाउनुहुन्छ? भनेर सोधेका थिए।
मैले यदि मलाई भ्याक्सिन पहिला लगाउन भनियो भने 'म एकदम तयार छु' भनेको थिएँ।
नभन्दै खोपको सुरूआत नै म कार्यरत टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालबाट सुरू भयो। त्यो बेला भ्याक्सिनप्रति मानिसमा विश्वास जगाउन धेरै लेखहरू लेखियो पनि। तर अहिले त्यस्तो स्थिति छैन। धेरैले भ्याक्सिन कहिले आउँछ भनेर सोध्ने गरेका छन्।
नेपालमा हाल दुइटा खोप प्रयोगमा आइरहेका छन्। एउटा भारतमा उत्पादित 'कोभिसिल्ड' नामको खोप हो। जुन खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनकाले विकास गरेको हो। अर्को चीनको सिनोफार्म कम्पनीले विकास गरेको 'भरोसेल' नामक खोप हो।