काठमाडौंमा निषेधाज्ञा कडाई गर्दै प्रशासन, भोकै बस्ने अवस्था आए प्रहरीलाई फोन गर्नुहोस् (भडियाेसहित)

कमल प्रभात

काठमाडौं

काठमाडौंमा जारी निषेधाज्ञा थप कडाई गर्ने निर्णयसँगै स्थानीय प्रशासनले अनुगमनलाई तिव्रता दिएका छन्। 

कोरोना संक्रमण अझै नियन्त्रणमा नआएको भन्दै जिल्ला प्रशासन काठमाडौंले निषेधाज्ञालाई थप कडाई नगर्ने निर्णय गरेको भोलि पल्ट आज (बुधबार) काठमाडौंका स्थानीय प्रशासनले विभिन्न स्थानमा पुगेर अनुगमन गरेको छ।

प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली, महानगरीय प्रहरी प्रमुख एसएसपी अशोक सिंह, महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईसहितको टोलीले काठमाडौं प्रवेश गर्ने मुख्य नाका थानकोटसहित बजार अनुगमन गरेका हुन्।

एक महिना बढी लामो निषेधाज्ञापछि पनि कोरोना संक्रमण नियन्त्रणमा नआएपछि निषेधाज्ञा थप कडाई गर्नुअघि अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी  पुराजुलीले बताए। 

‘कोरोना महामारीको सक्रंमणलाई नियन्त्रमा ल्याउन स्वास्थ्यका मापदण्ड र अनुशासन अझै कडा रुपमा पालन गर्नुपर्ने अवस्था आएको हुँदा हामीले निषेधाज्ञालाई कडाई गर्ने निर्णय गरेका छौं’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने,‘निषेधाज्ञा कडाई गुर्नअघि बजार तथा ‘आइसोलेसन’हरुको अवस्थाबारे बुझ्न अनुगमन गरेका हौँ।’

यसअघि, निषेधाज्ञालाई कडाई गर्ने तयारी गरेको काठमाडौं प्रशासनले १४ गतेदेखि एक साता अत्यावश्यक बाहेकका सबै पसलहरुसमेत बन्द गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी  पराजुलीका अनुसार यो अवधिमा खाद्यन्न पसलहरु समेत बन्द हुने छन्।

निषेधाज्ञा थप कडाई गर्ने तयारी गरिरहेको जिल्ला प्रशासनले यस अवधिमा कोही नागरिक समस्यामा परेमा प्रशासन तथा नगरपालिकामा खबर गर्न अनुरोध गरेको छ। 

‘थप एक साता कडाई गर्ने आदेश जारी भएको छ। यदि यो समयमा कोही खाद्यन्न लगायतका सामग्रीको अभावले समस्यामा पर्नुभयो भने नगरपालिका तथा वार्ड कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्छु।’, प्रमुख जिल्ला अधिकारी पराजुलीले भने। 

निषेधाज्ञाको समयमा समस्यामा परेर कोही भोकै बस्ने अवस्था आएमा प्रहरीलाई खबर गर्नसमेत प्रमुख जिल्ला अधिकारीले आग्रह गरे। 

त्यस्तै, उक्त टोलिले काठमाडौंका केही स्थानमा रहेका ‘आइसोलेशन’ तथा ‘होल्डिङ् सेन्टर’ को समेत अवलोकन गरेको छ। टोलीले नैकापस्थित मनमोहन मेमोरियल अस्पतालको भवनमा बन्दै गरेको ‘आइसोलेसन सेन्टर’, कीर्तिपूरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको कोभिड अस्पतालको अवलोकन समेत गरेको हो।

कोरोना नियन्त्रणको निम्ति प्रहरी सक्रिय रुपमा लागेको एसएसपी अशोक सिंहले बताएका छन्। ‘यो महामारी नियन्त्रण गर्न हामीले कडाइ गरेर मात्र हुँदैन, सर्वसाधारण पनि आफ्नो ठाउँबाट सचेत रहनुपर्छ।’, उनले सबैलाई सुझाए।

प्रकाशित मिति: : 2021-05-27 09:09:00

प्रतिकृया दिनुहोस्