बाबा हुनुहुन्न अब। मेरो बाबाको अवस्था यस्तो हुनुको पूरै जिम्मेवार म नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी सरकारी अस्पताललाई मान्छु। किनभने, बाबाको दुई हप्ताअगाडि डायलासिसका लागि लग्दाखेरी एसपीओटू ९० छ, तपाईंको डायलासिस यहाँ हुँदैन भनेर हामीलाई एनएमसीबाट निकालिदिएको हो। चार वर्ष मेरो बाबाले एनएसमीमा डायलासिस गराउनुभएको हो। ३ हजार ५ सय प्रतिडायलासिस सरकारबाट तिनीहरूले उठाएका हुन्। कमाउने बेलामा तिमीहरूले कमाउने ! बिरामीलाई गाह्रो भएका बेला धपाइदिने !
त्यहाँ चाहिँ मेसिनहरू, डाइलुजरहरू केही पनि राम्रो छैन। एनएसमीको डायलासिस मेसिनको कन्ट्रयाक्ट ओभरअल कुराहरूको कन्ट्रयाक्ट नेफ्रो प्लसले लिएको छ। जुन भारतीय कम्पनी हो। भारतको एक नागरिक, जो नेपालमा कार्यरत छ, त्यसले निर्णय गर्न पाउँदैन कि, डायलासिस कसको हुन्छ, कसको हुँदैन ! को बाँच्छ, को बाँच्दैन ! यहाँ आएर कार्यरत भारतको मानिसले डिसाइड गर्न पाउँदैन।
भारतको मानिसले यहाँ आएर तलब खाने हो। नेपालको बिरामीलाई हप्काउने होइन। हाम्रो लाइफ त्यसको हातमा छैन। नेफ्रो प्लसबाट यिनीहरूले कमिसन खाएर एउटा डायलासिसमा, एउटा डाइलुजरले १२ वटासम्म डायलासिस गरेको छ, मेरो बाबाको। ८–९ वटा त न्यूनतम छ। मसँग सबै सूची छ। गत वर्ष नारायणीमा कोभिड वार्ड बनाउँदा त्यहाँ बिरामी एनएमसीमा सिफ्ट गरेको थियो। एक महिनाभित्र पाँचजना बिरामी मरेका थिए, डायलुजर मेसिन नफेरेर।
नेफ्रो प्लसले पैसा बचाउन लास्टै नै धाँधली गरिरहेको छ त्यहाँ। एनएसमी हस्पिटललाई केन्द्रबाट आदेश आएको थियो, २० प्रतिशत शय्या कोभिड संक्रमितलाई छुट्याइदिनू भनेर। एनएमसीले म केन्द्रको आदेश मान्दिन भनेर भन्यो। किन भन्यो ? एनएमसीको फाउन्डर बसरुद्दिन अन्सारी हो।
बसरुद्दिन अन्सारी लास्टै नै पावरफुल मानिस हो। गुण्डागर्दी लास्टै नै धेरै चल्छ। उहाँलाई केरमेट गर्ने, चेकजाँच गर्ने कोही पनि छैन। बसरुद्दिन अन्सारी यति पावरफुल मानिस हो कि, गत वर्ष केपी ओली (प्रधानमन्त्री)को मिर्गौला प्रत्यारोपणमा जति पनि खर्च भएको हो। बसरुद्दिनले नै तिरेको हो। व्यक्तिगत तिरेको हो। प्रेस विज्ञप्ति निकालेर त्यो कुरा घोषणा गरेको हो। ऊ त्यति पावरफुल हो।