प्रिय ओली बा, 'त्यो पर्दैन'

Breaknlinks
Breaknlinks

प्रिय ओली बा,    
अचेल गर्मी छ, पसिना आउँछ, 
रुमाल गोजीमै राख्नुस्, पंखा चलाउनुस्।
तिर्खा लाग्न सक्छ, 
यूराेपियन पानीको बोतल छेउमै राख्नुस्।

यो देशको भविष्यको जिम्मा कोरोनाले लिएको छ, 
हजुरले चिन्ता लिनु पर्दैन।

अस्ति भर्खर बनेको धरहराको टुप्पोबाट
यो शहर चिह्याउने काम पनि कोरोनाले गर्दैछ,
तपाईंले गर्नु पर्दैन।

गल्ली-गल्लीमा को-को भोका/नांगा छन्,
त्यो पनि कोरोनाले बुझ्दै हिँडेको छ,
तपाईं हिँड्नु पर्दैन।

चोक-चोकमा हजुरको समाचार पनि कोरोनाले नै पुर्याउँदै छ,
चारै पर्खालबाहिर सिंहदरबारको रक्षा पनि कोरोनाले नै गर्दैछ,
ओली बा, तपाईं मस्त निदाउँनु्, आराम गर्नुस्।

अस्पतालमा बेडको संख्या तपाईंले गन्नु पर्दैन, 
कोरोनाले गन्छ। 

अक्सिजन नपाएर छट्पटिने बिरामीहरुको छातीमा
तपाईंले त्रिशुल राखिदिनै पर्दैन, 
कोरोनाले आफै राखिरहेको छ।

घिट्घिट् गरिरहेका घाँटीहरुमा 
कोरोनाले निशुल्क हावा बाँड्दै हिँडेको छ, 
भाे तपाईंले पर्दैन। 

ओली बा, तपाई चिसो पिउनुस्,
र नयाँ सपना देख्नुस्। 
असाध्यै गर्मी छ अचेल, जुस पिउनुस्,
र नयाँ योजनाको उद्घाटन गर्नुस्। 

देशको सुरक्षाको लागि त
चारैतिर कोरानाका भाइरस सक्रिय छन्, तैनाथ छन्।

तपाईंले देशकाे चिन्ता गर्नै पर्दैन,
आज मस्त सुत्नुस्, निदाउँनुस्। 

भोली बिहान तपाईंसँगै 
ज्यूनार गर्न पनि कोरोना आउँनेछ- मृत्युको लड्डु लिएर।

प्रिय ओली बा,
त्यतीबेला पनि तपाईं भन्नुहाेला- 'त्याे पर्दैन।'

तर हजुरकाे प्रेमिकाजस्तै काेराेनाले मान्ला र ?

- प्रशान्त राेका / रुकुम

प्रकाशित मिति: : 2021-05-25 20:09:00

प्रतिकृया दिनुहोस्