‘बरु हामी सुत्दैनौं, बिरामीलाई अक्सिजन पुगोस्’

लोकान्तर

काठमाडौं

काठमाडौंपछि रूपन्देही कोरोनाभाइरस (कोभिड– १९) बाट सबैभन्दा बढी प्रभावित जिल्ला हो । रुपन्देहीमा संक्रमितको संख्या १५ नाघिसकेको छ । 

यहाँको कोभिड अस्पतालमा अहिले जटिल संक्रमितलाई अक्सिजनको सपोर्टमा भुइँमै राखेर उपचार भइरहेको छ । बेडहरू भरिभराउ छन् । 

अक्सिजन अभावले २९ वैशाखमा बुटवल र भैरहवाका दुई कोभिड अस्पतालमा उपचाररत ८ बिरामीको ज्यान गयो ।

जटिल संक्रमित तीव्ररूपमा बढ्दै जाँदा अहिले रूपन्देहीमा अक्सिजनको हाहाकार छ । 

अक्सिजन उत्पादन गर्ने जिल्लाका तीनवटा (प्लान्ट) उद्योग अहिले चाैबीसै घण्टा चलेका छन् । त्यहाँ काम गर्ने कामदार र अपरेटर रातिमा समेत सुत्दैनन् । 

रुपन्देहीको तिलोत्तमा–१४ स्थित लुम्बिनी अक्सिजन प्रालिका ‘मेन अपरेटर’ विश्वेश्वर नाथ कुँवरलाई अहिले न खाना खान फुर्सद छ न त, सुत्न नै ।

लामो समयदेखि उद्योगमा काम गर्दै आएका कुँवरले कामको यस्तो चाप कहिल्यै महशुस गरेका थिएनन् । 

उनी जम्मा ४ घण्टा मात्र आराम गर्छन् । खाना खाएर चिसै हात मशिनमा पुग्छन् । उद्योगबाहिर अस्पतालबाट अक्सिजन लिन आएका गाडीहरू प्रतिक्षामा उनैको प्रतिक्षा गरिरहेका हुन्छन् ।

‘बिरामी बचाउन चिकित्सकको जस्तै मेरो पनि योगदान छ,’ कुँवर भन्छन्, ‘म लगायत हाम्रो उद्योगको टीम चौबीसै घण्टा अक्सिजन उत्पादन गर्ने काम गरेका छौं । आराम पनि गरिएको छैन । हाम्रो मेहनतले संक्रमित बिरामी बचुन् भन्ने चाहना हो ।’

यो चाप उनलाई वैशाख १३ गतेदेखि बढेको हो । उद्योगबाहिर बिरामीका आफन्त पनि लौ न मलाई सिलिन्डर ‘रिफिल’ छिटो गरिदिनु भन्दै पुकार गर्छन् । त्यो सुन्दा उनको मन थामिनसक्नु हुन्छ ।

भन्छन्, ‘नसुती–नसुती यही काममा चौबीसै घण्टा खटेको छु । आत्तिएर हुँदैन । आफन्तलाई अत्यावश्यक औषधिजस्तै अक्सिजन तयार गर्दैछु ।’

प्रकाशित मिति: : 2021-05-25 10:51:00

प्रतिकृया दिनुहोस्