उपत्यकामा संक्रमण घट्दै, गाउँगाउँमा बढ्दै

नेपाल खबर

काठमाडौँ

यज्ञराज जोशी

नेपालमा आइतबारसम्म सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ छ। त्यसमध्ये काठमाडौैं उपत्यकामा २९ हजार ५२५ छन्। ८६ हजार २२ जना संक्रमित उपत्यकाबाहिर छन्।

अघिल्लो हप्ता माओवादी नेता नारायणकाजी श्रेष्ठको सचिवालयले श्रेष्ठको निर्वाचन क्षेत्र रहेको गोरखामा कोभिड–१९ स्वयंसेवा समूह बनाएर स्थानीयको एन्टिजेन परीक्षण गरेको थियो। जसमा अधिकांश गाउँमा संक्रमित भेटिए। ५ सय ७४ जनाको कोभिड–१९ परीक्षण गर्दा ९७ जनाको कोरोना रिपोर्ट पोजिटिभ देखिएको टोलीका संयोजक डा. शिशिर देवकोटाले जनाए।

‘हामीले गरेको परीक्षणमा गाउँमा ३० देखि ४० प्रतिशतसम्म संक्रमित पाएका छौं,’ देवकोटाले भने, ‘५ प्रतिशतभन्दा बढी संक्रमित देखिए उच्च जोखिम मानिन्छ। ३० देखि ४० प्रतिशतमा संक्रमण देखिनु भनेको भयावह अवस्था हो। यसले गाउँभित्रभित्रै संक्रमण फैलिएको पुष्टि गर्छ।’

देवकोटाको टोलीले गोरखाको पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट, बारपाक सुलिकोट, सहिद लखन र भीमसेन थापा गाउँपालिकाका विभिन्न स्थानमा स्थानीयको एन्टिजेन परीक्षण गरेको थियो।

उनले ज्वरो आएका, खोकी लागेका शंकास्पदहरुको परीक्षण रिपोर्ट आउन पनि एकहप्ता बढीको समय लाग्ने गरेको र त्यतिञ्जेलसम्म ती संक्रमितले गाउँमा डुलेर संक्रमण झनै फैलाउने गरेको बताए।

‘रिपोर्ट ढिला आउँदा बिरामीलाई गाह्रो भई ज्यानै जाने समस्या समेत देखियो,’ देवकोटाले भने।

प्रकाशित मिति: : 2021-05-24 17:33:00

प्रतिकृया दिनुहोस्