पहिलो चरण:
सन् १९७२ मा राजस्थानको सुन्दर नगरी उदयपुरमा उपन्यास 'विगतको परिवेशभित्र' लेखेपछि सन् १९७४ मा कारगिलबाट घर शिलाेङ छुट्टी आउँदा म सोझै घर नआई उक्त उपन्यास छपाउन भनेर प्रकाशकको खोजीमा दार्जीलिङ पहिलोपल्ट पुगेको थिएँ।
त्यसबेला दार्जीलिंङको मनमा खुशीको घाम लाग्ने गर्थ्यो, कारण दार्जीलिङका दिदी-बहिनी, दाजु-भाइहरूका मनमा खुशीको घाम लाग्ने भएर।
यसैकारण चियापत्तीको बगान (कमान)मा चिया टिप्ने दिदी-बहिनीहरूको मुहारमा दीप्ति अनि अधरमा मुस्कान खेल्ने गर्थे। दार्जीलिङका बाटाभरि लाली गुराँस सबैलाई स्वागत गर्न भनी हाँस्दै फुल्ने गर्थे।
राती कतै हिँडे पनि केही हुन्छ कि भन्ने, डर थिएन। अराजकता थिएन। तँ 'नेपाली अनि म गोर्खा' भन्ने कुरा कसैको मनमा थिएन। हामी सबै एउटै रगतका सन्तान थियौँ। दाजु-भाइ थियौँ। दिदी-बहिनी थियौँ।
त्यसबेला दार्जीलिंङका दाजु-भाइ, दिदी-बहिनीहरूले मलाई धेरै सौहार्दपूर्ण माया दिए। यी सबै कुरा मैले आफ्नो आत्मजीवनी 'कारगिल युद्ध-१९९९' मा सविस्तार वर्णन गरिदिएको छु।
यसैले म भन्छु- 'त्यसबेला दार्जीलिंङ थिई पहाडकी रानी।'
दोस्रो चरणः
सन् १९९९ मा म दोस्रोपल्ट दार्जीलिंङ पुगेको थिएँ, कवि अगमसिंह गिरीको तैलचित्र लिएर। तैलचित्र 'गोर्खा दु:ख निवारण सम्मेलन'लाई प्रदान गर्नु थियो। प्रदान पनि गरेँ। त्यसबेला 'गोदुनिस'को अतिथि भवन बन्दै थियो। त्यसभन्दा अघि 'गोदुनिस' को कुनै अतिथि भवन थिएन। म त्यस अतिथि भवनको प्रथम अतिथि तथा त्यस अतिथि भवनमा सुत्ने प्रथम चित्रकार भनूँ कि लेखक भनूँ, म नै हुँ।
मलाई पनि यसबारे केही थाहा थिएन। पछि मेरो विषयमा यसबारे ले.कर्नल एम.एस. सुब्बाज्यूले लेख लेखेर 'सुनचरी'मा छपाइदिएपछि लेख पढेर बल्ल मलाई थाहा भयो, म त्यस अतिथि भवनको पहिलो पाहुना रहेछु भनेर।
त्यसबेला ले.कर्नल एम.एस. सुब्बाज्यू 'गोदुनिस'को अध्यक्ष हुनुहुन्थ्यो। म 'गोदुनिस'मा पाहुना भएर ५ दिन बसेँ। बसेको बेला 'गेदुनिस'का कर्मकर्ताहरूले मलाई भन्ने गर्थे, 'साँझ ननिस्कनुस् ल। यहाँ त कसैको भरोसा छैन। ६ इन्च घटाइदिने डर पो छ साँझैतिर। राती बाटोमा हिँड्नै कुरा भएन।'
पछि मैले बुझेँ, ६ इन्च के हो भनेर। सुवास घिसिङले नै खुकुरी लिने भएपछि त्यसबेला यिनका अनुयायीहरूले खुकुरी लिनु अनि ६ इन्चको काण्ड गर्नु साधारण कुरा थियो, त्यसबेला।
दार्जीलिङका जनता घिसिङबाट जगजगी थिए, त्यसबेला। यसैकारण दार्जीलिङ त्यसबेला अँध्यारोमा डुबेजस्तो थियो। दार्जीलिङको मुहारमा दीप्ति थिएन। अधरमा मुस्कान थिएन।
यसैले म भन्छु- 'त्यसबेला दार्जीलिङ भएकी थिई, ६ इन्च घटाइदिन्छु भन्ने खानी।'
तेस्रो चरण:
तेस्रो चरणमा म दार्जीलिङ पुगेको छैन। तर फेसबूक र अन्य श्रोतबाट थाहा पाउने गरेको छु, त्यहाँ हिजोआज गोर्खा र अर्को गोर्खा मिल्दैन।
चुनाव भइसक्यो तर Battle of Gorkha Vs Gorkha दार्जीलिङ अझसम्म भइरहेकै छ, घिसिङ यस्तो, विमल यस्तो, राजु यस्तो।
अहिले कोको विधायक भएका छन्। यी विधायकहरूले दार्जीलिङका गोर्खाहरूलाई एक सूत्रमा बाँधे मात्रै ? तर के बाँध्लान् र?
यसैले म भन्छु, 'आजको दार्जीलिङ भएकी छ एकअर्कामा गर्ने हानाहानी।'