काठमाडौंमा कोरोना संक्रमण ‘स्टेवल’ ! अझै बढ्न सक्छ जोखिम

बाह्रखरी

काठमाडाैं

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था ‘स्टेवल’ रहेको देखिएको छ। पछिल्लो दुई साताको कोरोना तथ्याङ्कका आधारमा संक्रमणको अवस्था ‘स्टेवल’ रहेको देखिएको हो।

देशभरीमै सबैभन्दा बढी संक्रमण र मृत्युदर काठमाडौंमै छ। औसतमा ३ हजारदेखि माथि दैनिक संक्रमित थपिँदै गएका छन्। उपत्यकामै अक्सिजनको अभाव भएको छ। कोरोना नियन्त्रणका लागिभन्दै वैशाख १६ गतेदेखि जेठ १३ गतेसम्म निषेधाज्ञा जारी छ। तर, संक्रमण दर भने घटेको छैन।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली निषेधाज्ञाकै कारण अवस्था भयावह हुनबाट रोकिएको बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार (हिजोसम्म) काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३९ हजार नाघेको छ। १७ सय ९१ जनाको मृत्यु भएको छ। पराजुलीले भने, “काठमाडौंको अवस्था ‘स्टेवल’ देखिन्छ। यहाँ अधिकतम ४८ प्रतिशतसम्म संक्रमण बढेको थियो भने न्युनतम ३२ मा झरेको थियो। केही दिन घटे पनि फेरि बढेको छ। यसलाई स्टेवल नै मान्न सकिन्छ।”

नेपालमा संक्रमण र मृत्युदर विश्वमै उच्च संक्रमण भएका देशकै हाराहारीमा छ। अन्तर्राष्ट्रिय समुदायले समेत नेपाललाई सहयोग गर्नुपर्ने बताउँदै आएका छन्।

प्रकाशित मिति: : 2021-05-19 13:11:00

प्रतिकृया दिनुहोस्