अक्सिजन नपाएर मर्ने अवस्था आउन सक्छ, स्वास्थ्य मापदण्ड अपनाऔंः डा. सन्तकुमार दास (अन्तर्वार्ता)

कोरोनाको दुबै डोज लगाएका व्यक्तिलाई पनि संक्रमण हुन्छ

कमल प्रभात

काठमाडौँ
Breaknlinks
Breaknlinks

कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहर फैलिएसँगै दैनिक पाँच हजारभन्दा धेरै मानिसमा संक्रमण देखिन थालेकाे छ।नेपालमा पछिल्ला केही दिनयता दैनिक ५० जनाभन्दा धेरै कोरोना संक्रमितले ज्यान गुमाइरहेका छन् भने राजधानीकाे उपत्यकाहरुमा भएका सरकारी-निजी अस्पतालहरुमा कोभिड उपचार गर्ने शैया अर्थात बेडको पनि अभाव हुँदै गएकाे छ।

कोरोना संक्रमितमध्ये अधिकांश विरामीहरु घरमै ‘होम आइसोलेसन’मा बसिरहेका छन्। नयाँ भेरियन्टमा देखिएको कोरोना भाइरसको संक्रमणमा २० बर्षभन्दा माथिका युवाहरु धैरै देखिएका छन्। अधिकांश संक्रमितहरूलाई अक्सिजनको आवश्यकता परेको छ। यसै विषयमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कोरोना फोकल प्रसन डा. सन्तकुमार दाससँग बिएल नेपाली सेवाले गरेको कुराकानीको सम्पादित अंशः

गत वर्षभन्दा यो नयाँ भेरियन्टको दोस्रो लहरमा देखिएको संक्रमणमा के-कस्तो फरक छ ?

पहिलेको भन्दा अहिलेको कोरोनामा ३/४ वटा कुरा फरक छ। पहिलेकोमा 'इन्फेक्टीभीटी' कम थियो। एउटा व्यक्तिले २/३ जनालाई मात्रै 'इन्फेक्ट' गर्थ्याे भने अहिले एउटा व्यक्तिले सात जनासम्मलाई 'इन्फेक्ट' गर्नसक्छ। दोस्रो कुरा यसले गर्ने असर अर्थात सिरीयसनेस पनि बढी छ। पहिला कोरोना संक्रमण भएको दोस्रो हप्तामा मात्रै गाह्रो हुन्थ्यो भने अहिले पहिलो हप्तामै निमोनिया भएर मानिसहरु अस्पताल आईराखेका छन्। तेस्रो कुरा संक्रमण भएका ६० प्रतिशतलाई मात्र अक्सिजन चाहिन्थ्यो भने अहिले ९० प्रतिशतभन्दा धेरैलाई अक्सिजन चाहिएको छ। 

अहिले कस्तो-कस्तो खालको विरामीलाई अक्सिजनको आवश्यकता परेको छ ?

अहिले आउने सबै कोभिड–१९ निमोनियाका विरामीलाई अक्सिजन आवश्यकता परेको देखिन्छ। पहिले–पहिले अन्य लक्षणहरु पनि देखिन्थे। उनीहरुलाई अक्सिजन चाहिँदैनथ्यो तर अहिले सबै विरामी कोभिड निमोनिया भएर आउँछन्, त्यसैले सबैलाई अक्सिजन चाहिएको हाे।

टिचिङ अस्पताल सरकारी अस्पताल हो, मानिसहरुले स्वभाविक रुपमा राम्रो उपचार पाइने अपेक्षा राख्छन्। कोभिड विरामीलाई कसरी व्यवस्थापन गर्नु भएको छ ?

यो समयमा सरकारी अस्पतालमा जनताको, अझ भन्दा निम्न वर्गका जनताको अपेक्षा बढी हुन्छ। आज (बैशाख २३) गतेसम्म कोभिडका २१० जना विरामीहरु भर्ना हुनुहुन्छ। भर्ना भएका ९० प्रतिशत विरामीलाई अक्सिजन आवश्यकता छ। ४४ जना विरामीहरु आइसियू मै हुनुहुन्छ। अर्को १५/२० जना आईसियू चाहिने विरामीलाई वार्डमा राखेर उपचार गरिरहेका छौं। १२ जना अक्सिजनको लागि भर्नाको पर्खाइ (वेटीङ) मा हुनुहुन्छ। कोभिडको 'इमरजेन्सी'मा २७ जना विरामी भर्नाको पखाईमा हुनुहुन्छ। तर अहिले ५३ जनाभन्दा धेरै प्रतिक्षामा हुनुहुन्छ। उहाँहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं। बेडलाई कसरी बढाउने भन्ने विषयमा लागि राखेका छौं।

यो बेडको कुरा भयो। जनशक्ति व्यवस्थापन पनि उत्तिकै चुनौती छ। त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा काम गरिराखेका छौं। अहिले टिचिङ अस्पतालको आधाभन्दा धेरै जनशक्ति कोभिडको उपचारमा खटिएका छन्। त्यसका साथै अक्सिजन अन्य लजिस्टीक सामानहरुमा समस्या देखिएको छ। 

अहिले धेरै विरामीलाई अक्सिजन आवश्यकता पर्छ भन्नु भयो, तपाईहरुले अक्सिजन कसरी व्यवस्थापन गर्नु भएको छ ?

टिचिङमा दुई वटा अक्सिजन प्लान्ट पहिले देखिनै छ। जसले प्रतिमिनेट ५/५ लिटरका दरले उपत्पादन हुन्छ। त्यसका साथै १ बर्षदेखि बिग्रीराखेको एक हजार लिटर प्रतिमिनेट उपत्पाद गर्ने अर्को प्लान्ट सञ्चालनमा ल्याएका छौं। व्याकपको रुपमा  सिलिण्डरहरु पनि राखेका छौं।

कोरोनाको महामारीमा विरामीहरुको अत्याधिक चाप भएको कुरा तपाईले बताइहाल्नु भयो, स्वास्थ्यकर्मी दैनिक कति घण्टासम्म खटिएका छन् ?

मैले तपाईलाई पहिले नै भने, सम्पूर्ण जनशक्तिको आधा जनशक्ति त कोभिडको उपचार मै खटिएको छ। अब रह्यो समयको, २१० त भर्ना नै छ। ५० जनाभन्दा धेरै भर्नाको लागि प्रतिक्षा मै हुनुहुन्छ, त्यसका लागि २४सै घण्टा हामी खटिएका छौं।

पहिला त युवाहरुभन्दा पनि वृद्धवृद्धा र दीर्घरोगीहरुलाई कोरोनाको संक्रण देखिएको थियो, तर अहिले युवाहरुलाई पनि तिब्र संक्रमण देखिएको छ नी !

अहिले २० बर्षदेखि ५० बर्षसम्मका युवा अवस्थाका मानिसलाई संक्रमण मात्र होइन, सिरियस कोभिड निमोनिया हुने गरेकाे छ। त्यसैले यो दीर्घ रोगी बुढाबुढीहरुलाई मात्र होइन, जो कोहिलाई पनि सिरियस विरामी बनाउँछ। युवाहरुले पहिले बुढाबुढीहरुलाई मात्र समाउँछ भनेर स्वास्थ्य मापदण्ड नअपनाउले अहिलेको यो अवस्था आएको हो। त्यसैले सबैले स्वास्थ्य मापदण्ड अपनाएको खण्डमा मात्रै हामी जोखिन सक्छौं।

पहिले कोरोना भाइरसको संक्रमण भएका विरामीलाई नयाँ भेरियन्टले छुन्छ की छुँदैन, यदि छोयो भने कस्तो असर देखिन्छ ?

पहिला कोरोना लागेर निको भएका विरामीहरु फेरि पनि कोभिड संक्रमण भएको देखिएका छन्। टिचिङ अस्पतालका स्वास्थ्यकर्मीहरुमा पनि यो देखिएको छ। पहिले संक्रमण भएका विरामीलाई कती असर गर्छ भन्ने कुरा अध्ययन हुनै बाँकी छ तर हामीले देखेका विरामीहरुलाई पुनः संक्रमण हुँदा धेरै असर गरेको पाएका छौनौं। अर्थात कम इन्फेक्सन देखिएको छ। पहिला संक्रमण भएका मानिसहरुलाई अहिले गम्भिर विरामी हुनबाट जोगाएको देख्रिन्छ। 

कोरोनाको दुबै डोजको खोप लगाएका मानिसहरुलाई नयाँ भेरियन्टको संक्रमण हुने सम्भावना छ ?

छ। पहिलो डोज वा दोस्रो डोज लगाएका मानिसहरुलाई संक्रमण हुन्छ। तर त्यसले गम्भिर बनाउँदैन् तर मृत्यु दर कम हुन्छ। त्यसैले स्वास्थ्यका मादण्ड अपनाउनुपर्छ। 

अन्त्यमा, आम मानिसहरुलाई एक डाक्टर भएका हिसाबले के अपिल गर्न चानुहुन्छ ?

यो अवस्थामा संक्रमण तिब्र रुपमा फैलिएको छ। पहिला तीन महिनामा बढेको संक्रमण दर अहिले १५ दिनमा बढेको देखिन्छ। त्यसले गर्दा अस्पतालहरुलाई व्यवस्थापन गर्न अफ्ठारो परिरहेकाे छ। जनशक्तिको पनि अभाव छ। हामीले ध्यान दिएनौ र यहि रफ्तारमा बढेको खण्डमा अस्पताल र अक्सिजन नपाएर मर्नु पर्ने अवस्था आउन सक्छ। छिमेकी देशको अवस्था आउन नदिन अहिलेबाटै सचेत बनौं। आफुले ‘सेल्फ लकडाउन’मा बसौं। त्यसैले आफू पनि जोगिउँ र अरुलाई पनि जोगाउँ, भन्न चाहन्छु।

प्रकाशित मिति: : 2021-05-18 12:56:00

प्रतिकृया दिनुहोस्