ओली सरकारको भूलैभूलको रवैया

प्रधानमन्त्री केपी ओलीलाई अहिलेको संसद् मन परेको छैन। उनले संसद् सदस्यको रूपमा न त शपथ लिएका छन् न त संसद्का बैठकमा उपस्थित हुँदा संसद्को सम्मान नै गर्ने गरेका छन्। गत वर्ष संसद्को प्रश्नोत्तर कार्यक्रम र संसदीय समितिले बोलाएको बेला उपस्थित नै नहुने गरेका थिए उनी।  

संसद्मा उपस्थित भएर बोल्दा संसद् र सांसदको अपमान गर्ने काम पनि धेरै गरेको उनीमाथि आरोप छ। कोरोना भाइरसको विषयमा पनि प्रधानमन्त्री ओलीले २०७७ जेठ २८ गते संसद्मा ‘बोल्दै बेसारपानी खाए कोरोना लाग्दैन’ भन्ने अभिव्यक्ति दिए।

उनले नेपालीको ‘इम्युनिटी’ क्षमता बढी भएको बताउँदै नेपालीले कोरोनालाई जित्छन् समेत भने। ‘नेपालीमा प्रतिरोधात्मक क्षमता धेरै राम्रो छ, अरू देशको तुलनामा मृत्यु हुनेको संख्या पनि कम हुनेछ, मृत्यु नहोस् भन्ने कुरामा ध्यान दिएका छौं, उपचारको प्रबन्ध पनि राम्रो छ,’ उनले भनेका थिए। प्रतिपक्षी दल कांग्रेसका सांसद गगन थापाले प्रतिरोधात्मक क्षमता बलियो छ भनेर कसले भन्यो भन्दै प्रश्न गर्दा त्यसको जबाफमा प्रधानमन्त्री ओलीले भने, ‘भर्खरै सुन्नुभो नि, मैले भनेको।’  

ओलीले नेपाली खानामा बेसार, नुन, जिरा, अदुवालगायत औषधिजन्य समेटिने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढी रहेको दाबी गरेका थिए। प्रधानमन्त्री जस्तो व्यक्तिले गतवर्षको कोरोनाबाट मृत्यु भएका व्यक्तिलाई अरू रोगले मरेका हुन् भन्ने अभिव्यक्ति दिँदै विश्व स्वाथ्य संगठनको मापदण्डअनुसार मरेको भन्नुपरेको समेत बताए। 

प्रकाशित मिति: : 2021-05-18 07:42:00

प्रतिकृया दिनुहोस्