अक्सिजन हाहाकार टार्ने महावीर पुनको यस्ता छन् योजना (भिडियाेसहित)

सुरेन्द्र राना र कमल प्रभात विक

काठमाडाै‌– महावीर पुन यस्ता सामाजिक अभियन्ता हुन् न उनको केही विशेष काम हुन्छ न कहिल्यै फुर्सद छ। कोरोना भाइरस सङक्रमणपछि समाजका धेरै मान्छे फुर्सदिला बनेका छन् तर पुन भने यसबीचमा पहिलाभन्दा व्यस्त भएका छन्।

कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रप्रति आममान्छेको आशा बढेको छ। उनको दैनिकी त्यहीँ बित्ने गरेको। दैनिकी झन् व्यस्त बन्दै गएको छ। 
कोरोनाका बिरामीको संख्या बढेसँगै बजारमा अक्सिजनको हाहाकार छ। अस्पतालमा शय्या र भुइँ दुवै ठाउँमा बिरामी भरिभराउ छन्। फोक्सोमा कोरोना भाइरसले आक्रमण गरेका बिरामीलाई सास फेर्न सकस परिरहेको छ तर अक्सिजन पाइँदैन। यो अवस्थामा अक्सिजन अभाव टार्ने उपायबारे खोज अनुसन्धानमा लागिपरेका छन्– म्यागासेसे पुरस्कार विजेता नेपाली अभियन्ता महावीर पुन।

पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन्। उनी दिनरात त्यसैका लागि काम गर्छन्। कोरोना महामारीको पहिलो लहरमा कोरोना नियन्त्रण तथा सङ्क्रमितको उपचारका निकै सघाएको थियो– आविष्कार केन्द्रले। सुरुमा पीपीई बनायो। भेन्टिलेटर मर्मत गरिदियो। केरोनाको उपचार गर्ने सिसाको ‘बुथ’ बनाइदियो– देशभरिका अस्पतालमा। यतिबेला बिरामीका लागि सबैभन्दा जरुरी परेको छ– अक्सिजन। त्यसको अभाव टार्ने उपायहरु खोजिरहेका छन्।

अक्सिजन अभावको उपाय खोज्दै उद्योगमन्त्री भट्ट पुगे महावीर पुनकहाँ

अस्पताल र अक्सिजन उद्योगबाट अनेकौँ समस्या लिएर मानिस आविष्कार केन्द्रमा पुग्ने गर्छन्। आविष्कार केन्द्रले अक्सिजन उत्पादनमा आइपर्ने समस्या समाधन गरिरहेको छ। 

विशेषगरी काठमाडौं उपत्यकाका अस्पतालमा रहेका अक्सिजन ‘प्लाण्ट’ र उद्योगमा आइपर्ने समस्या समाधानमा आविस्कार केन्द्रले काम गरिरहेको छ। कोरोना महामारीमा नियन्त्रणमा सके जति काम गरिरहेको छ।आविष्कार केन्द्रले अक्सिजन अभाव टार्न धेरै उपायको खोजीमा  नयाँ परीक्षण गरिहेको छ।

अक्सिजन अभावलाई टार्न मुख्य दुई कुरामा विशेष जोडि दिएको आविस्कार केन्द्रका अध्यक्ष पुनले बिएल नेपाली सेवालाई बताए। उनका अनुसार, तत्काल अक्सिजन ‘प्लाण्ट’ स्थापना गरेर संचालनमा ल्याउन कठिन भएको हुँदा वैकल्पिक विधिलाई प्रयोगमा ल्याउनुपर्नेमा उनले जोड दिएका छन्। हाल सञ्चालनमा आएका उद्योगको उत्पादन क्षमतालाई बढाउने र अक्सिजन ‘कन्सन्ट्रेटर’को प्रयोग गरी ‘मिनी’ अक्सिजन ‘प्लान्ट’ सञ्चालनमा ल्याउने रहेका छन्।

अक्सिजनको चरम अभाव पुरा गर्न सरकारलाई महावीर पुनका ६ सुझाव

पुनले भने, ‘विगतमा अक्सिजनको माग कम भएको अवस्थामा बन्द अवस्थामा रहेका वा कम उत्पादन गरिरहेका उद्योगको उत्पादन क्षमातामा वृद्धि गर्न सकेको अवस्थामा केही हदसम्म अक्सिजनको आपूर्ति बढाउन सकिन्छ।’हाल आविष्कार केन्द्रले काठमाडौं उपत्यकाबाहेक पनि देशका विभिन्न अस्पतालमा पुगेर बन्द रहेका ‘अक्सिजन प्लाण्ट’ को मर्मत गर्ने काम गरिरहेका छ। 

हिमाल चढ्दा पर्वतारोहीले प्रयोग गर्ने अक्सिजन सिलिण्डरलाई बिरामीको उपचारका लागि प्रयोग गर्न मिल्ने बनाउँदै छ। ‘पर्वतारोहीले प्रयोग गर्दै आएका करिब एक हजार सिलिण्डरलाई बिरामीको उपचारको लागि प्रयोग गर्न सकिन्छ’, पुनले भने, ‘तर त्यसका लागि थप प्रविधि आवश्यक पर्छ। त्यसको व्यवस्थापनमा आविष्कार केन्द्र अनुसन्धान गरिरहेको छ।’

त्यसैगरी आविष्कार केन्द्रले तत्काल ‘अक्सिजन कन्सन्ट्रेटर मेसिन’ को प्रयोग गरेर अस्पतालहरुमा ‘मिनी’ अक्सिजन ‘प्लान्ट’ सञ्चालनमा ल्याउन सकिने बताएको छ। 

अध्यक्ष पुनका अनुसार, अक्सिजन ‘कन्सन्ट्रेटर’ विद्युतीय माध्यमबाट चल्ने एक किसिमको प्रविधि हो। जसले हावामा रहेको अक्सिजनलाई तान्नेर मानिससम्म पुर्याउने गर्छ। यो मेसिन अन्य देशबाट आयात गर्नुपर्छ। सरकारले तत्काल यो मेसिन ल्याउन सकेमा बजारको माग पूर्ति गर्न सकिने छ।

‘कन्सन्ट्रेटर’ मेसिन आयत र सञ्चालनबारे आविष्कार केन्द्रले पहिलो चरणको छलफल गरेको छ। यस विषयमा बुझ्न यसअघि उप–प्रधानमन्त्री ईश्वर पोखरेल आविष्कार केन्द्र पुगेका थिए। त्यस्तै शनिबार उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आविष्कार केन्द्रसँग मिलेर ‘मिनी–प्लान्ट’ बनाउने योजनाबारेमा छलफलसमेत गरेका छन्।

विदेशबाट अक्सिजन ल्याउन राष्ट्रिय आविस्कार केन्द्रसँग सरकारले सहकार्य गर्ने

आविष्कार केन्द्रले कार्बन–डाईअक्साइड र नाइट्रोजन ग्यासको सिलिण्डरलाई पनि बिरामीको उपचारको लागि प्रयोगमा ल्याउनसकिने सम्भावनाबारे अध्ययन गरिरहेको छ।

स्वास्थ्य मन्त्रालयले अस्पताललाई तत्काल अक्सिजन ‘प्लान्ट’ निर्माण गर्न निर्देशन दिए पनि त्यो अहिले संभव नभएको पुनले बताए। ‘सरकारले भनेको जस्तो तत्काल अक्सिजन प्लान्ट संचालनमा ल्याउन कठिन छ किनभने त्यो निर्माण कार्यको लागि नैै तीन महिना जति समय लाग्छ’, पुनले भने।

 

 

अहिले केही जिल्लामा नयाँ अक्सिजन प्लान्ट बनाउने तयारी भए पनि जनशक्ति अभावले गर्दा निर्माण सम्पन्न हुन सकेका छैनन्।

कोरोना महामारी नियन्त्रणका लागि आविष्कार केन्द्रले हालसम्म केन्द्रले कोरोना नियन्त्रण तथा संक्रमितको उपचारको लागि १३ किसिमका उपकरणको निर्माण गरिसकेको छ। 

अक्सिजन अभावलाई टार्न सबै निकायबीच सहकार्य हुनुपर्नेमा आविष्कार केन्द्रले बताएको छ। ‘सरकारसँग राम्रो तलमेल हुनसकेको अवस्थामा तत्काल अक्सिजन अभावलाई टार्न सकिन्छ।

प्रकाशित मिति: : 2021-05-17 18:47:00

प्रतिकृया दिनुहोस्