विदेशबाट अक्सिजन ल्याउन राष्ट्रिय आविस्कार केन्द्रसँग सरकारले सहकार्य गर्ने

काेराेनाका बिरामीहरूकाे उपचारकाे लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु विदेशबाट नेपाल ल्याउन सरकारले सहयाेग गर्ने भएकाे छ।

अक्सिजन सिलिण्डर, भेन्टिलेटर, अक्सिजन कन्सरट्रेटर लगायतका सामाग्रीहरू चीन, जापान, अमेरिका, कतार, अस्ट्रेलिया आदि देशहरुमा खरिद गरिरहेको तर जहाजबाट नेपाल ल्याउन नसकेका ब्यापारी, संस्था र समूहहरुलाई सरकारले सहयोग गर्ने भएकाे हाे। 

शनिवार अपरान्ह उद्योग मन्त्री लेखराज भट्ट र आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलकाे टोली राष्ट्रिय आविस्कार केन्द्र पुगेर महावीर पुनसँग अक्सिजन आपूर्तिका वैकल्पिक उपायहरूबारे छलफल गरेका थिए। 

बिएल नेपाली सेवासँग संक्षिप्त कुराकानीमा मन्त्री भट्टले मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेर तत्काल निस्कर्ष निकालिने बताएका छन्। 

उनले आइतबार उद्योग मन्त्री, पर्यटन मन्त्री, मन्त्रालयका सचिवहरु, नेपाल वायु सेवा निगम र नेपाल आयल निगम पदाधिकारीसंग राष्ट्रिय आविष्कार केन्द्रसहित सकारात्मक छलफल भएकाे पनि जानकारी दिए।


अक्सिजन अभावको उपाय खोज्दै उद्योगमन्त्री भट्ट पुगे महावीर पुनकहाँ


छलफलमा कुनै पनि ब्यापारी, संस्था र समूहहरुले कोरोनाको लागि खरिद गरेका सामानहरु जस्तै अक्सिजन प्लान्ट, अक्सिजन कन्सट्रेटर, भेन्टिलेटरसहित अन्य स्वास्थ्य सामानहरु नेपाल एयरलाइन्सको जहाज पठाएर नेपाल ल्याउन सरकारले सहयाेग गर्ने निर्णय भएको महावीर पुनले जानकारी दिए। 

पुनले चीनको कुन्मिङ्ग, बेइजिङ्ग, गंजाउ, दोहा कतार, जापान, अस्ट्रेलिया र अमेरिकाको पश्चिमी किनारको कुनै पनि ठाउँमा तुरुन्त जहाज पठाउन सरकार तयार रहेकाेसमेत जानकारी गराए।  उनले विभिन्न देशमा वस्ने नेपाली नागरिकले स्वास्थ्य सामाग्रीहरु पठाउन राष्ट्रिय आविस्कार केन्द्रलाई  लिस्ट बनाएर पठाउन अनुरोध गरेका छन। केन्द्रले सरकारलाई तुरुन्त लिस्ट पठाइ काम अगाडि बढाउने उनले बताए।

 मिलेर सामानहरु एक ठाऊँमा जम्मा गर्ने र सामानहरुको तौल ३० टनदेखि ४० टनसम्म हुनुपर्ने समेत उनले जानकारी गराए।  'ब्यापारीहरुको लागी जहाजको भाडा एकदम सहुलियत दरमा ल्याइनेछ, र नेपाल आयल निगमले जहाजको ईन्धन निशुल्क उपलब्ध गराउने छ।', उनले भने।
राष्ट्रिय आविस्कार केन्द्रमा (९८४१५९२३६१)मा सम्बन्धित ब्यापारी र संस्थाहरुले तुरुन्त सम्पर्क गर्न पुनले आग्रह गरेका छन्। 

प्रकाशित मिति: : 2021-05-17 11:19:00

प्रतिकृया दिनुहोस्