असरफ फायदानलाई साउदी अरब सरकारले ईश्वरविरोधी कविता लेखेको आरोप लगाएर मृत्युदण्ड दिएको थियो। यो लेख लेख्दै गर्दा धेरै पहिले समाजिक सञ्जालमा पुरुषोत्तम खतिवडा नामका प्रयोगकर्ताले लेखेको एउटा कविताको याद आयो। जुन कविता ईश्वरविरोधी त थिएन तर कता-कता जीवनविरोधी भने पक्कै थियो।
सदरमुकाम धाएँ,
नागरिकता पाएँ,
पासपोर्ट बनाएँ,
'दलाल'कोमा धाएँ,
काठमाडौं आएँ,
म्यानपावर धाएँ,
ऋण कमाएँ,
अनि मरुभूमि आएँ,
देश गुमाएँ,
दाजुभाइ गुमाएँ,
साथी गुमाएँ,
जवानी गुमाएँ,
उनको साथ गुमाएँ,
अन्त्यमा,
केही 'नोट कमाएँ',
कागजी टुक्राका लागि
मैले पूरै 'जिन्दगी गुमाएँ'।
आखिर खै त मैले के पाएँ ?
आफ्नै जीवनको विरोध गरेरै सही, मास्टर डिग्रीले भन्दा अरबको नब्बे डिग्रीले देशलाई पालेको, धानेको, बचाएको अनि सघाएको छ।तर रेमिट्यान्सले धानेको देशको उपमा पाएको यो राज्यका मेहनती नौजवानहरूले राज्यबाट एकथान नागरिकताबाहेक केही पाएनन्। नागरिकस्तरबाट सम्मान पनि खासै पाएका छैनन्।