टीभीका प्राइम टाइममा देखाइने यी टक शाेहरूले हामीलाई के सिकाउँछन् ?

शिलापत्र

काठमाडौं

प्राचीन रोममा शासकहरू ठूलाठूला कलोसियमहरू निर्माण गर्ने गर्दथे। ती कलोसियम अर्थात् स्टेडियमहरूमा, शासकहरूले आमजनतालाई बोलाउँथे। त्यहाँ मानिसहरूबीच लडाइँ, मानिस र जनावरबीच लडाइँ अनि जनावर र जनावरहरूबीच पनि लडाइँको आयोजना गर्दथे। कलोसियममा प्रवेश शुल्क लाग्दैनथ्यो तर पनि खास वर्गका मानिसहरूका लगि भने कलोसियमभित्र पनि निश्चित स्थानहरू भने छुट्याइएको हुन्थ्यो।

रोमका जनता बिहानदेखि रातिसम्म काम गर्थे र उनीहरूका लागि कुनै पनि बिदाको समय छुट्याइएको थिएन। लगातार श्रममा घोटिँदा पनि जीवनस्तर सुधार नहुँदा मानिसहरूमा निराशा उत्पन्न हुन्छ र त्यो निराशाले क्रान्तिको उद्घोष गर्नेछ भन्ने कुरा शाषकहरूलाई राम्रोसँग ज्ञान थियो। त्यसबेला एउटा भनाइ प्रचलित थियो, 'उनीहरूलाई थोरै रोटी र धेरै सर्कसहरूदेउ।' रगतको खेल देखाएर मनोरञ्जन दिइने भनिएका ती कलोसियमहरू, शाषकहरूले मानिसहरूलाई उनीहरूको आमचासोको विषयभन्दा पर राख्ने सबैभन्दा उत्तम विकल्प थियो।

कलोसियममा लडाइँ गर्ने मानिसहरूलाई ग्लाडिएटर भनिन्थ्यो, जो आफ्नो जीवनमरणका लागि संघर्ष गर्ने गर्दथे। ग्लाडिएटरहरूलाई कलोसियममा लडाइँ गर्नकै लागि तयार गरिन्थ्यो र उनीहरूको जीवन लडाइँमै बित्ने गर्दथ्यो। ती ग्लाडिएटरहरू दासहरू हुने गर्दथे। ४ सय वर्षबीचको दौरानमा यस्ता कलोसियमहरूमा ४ लाखभन्दा बेसी ग्लाडिएटर अर्थात्् मानव जीवनहरू समाप्त भएका थिए।

सन् ३२५ मा यस्ता कलोसियमहरूमा ग्लाडिएटर लडाउने खेल सधैँँका लागि बन्द गराइएको भए तापनि, आजको आधुनिक युगसम्म आइपुग्दा ती कलोसियमहरू हाम्रो देशका टेलिभिजनहरूमा प्राइम टाइम बहसको नयाँ स्वरूप लिएर आएका छन्। टेलिभिजन च्यानलहरूमा हरेक दिन बेलुका ७ देखि १० बजेसम्मको समय आमजनताको खास मुद्दा भड्काउन यस्ता कलोसियमहरू सञ्चालित हुने गरेका छन्।

प्रकाशित मिति: : 2021-05-15 08:45:00

प्रतिकृया दिनुहोस्