नेताका विवाद मिलाउन व्यापारीका कोठाचोटा

शिलापत्र

काठमाडौं

मनबहादुर बस्नेत

बहुमतको सरकार बनाउने समयसीमा घर्किँदै गइरहेका बेला प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामाे भेटवार्ता भयो । छलफलका लागि उनीहरू विवादस्पद व्यापारी रामेश्वर थापाको निजी निवासतिर लम्किए । २३ फागुनमा सर्वाेच्चकाे फैसलाले पार्टी ब्युँतिएपछि आन्तरिक कलहका कारण दुई ध्रुब्रमा  बाँडिएका दुई शीर्ष नेताले तेस्रो जमघटको थलो यस्तो ठाउँमा रोजे, जसले लोकतन्त्रकालमा झाँगिएको राजनीतिक विकृत पाटोलाई पुनः उदांगो पारिदिएको छ । 

थापा उनै व्यापारी हुन्, जसले भारतीय खुफिया संस्था रिसर्च एन्ड एनलाइसिस विङ्ग (रअ) का प्रमुख सामन्त गोयलकाे नेपाल भ्रमणमा रहस्यमय सक्रियता देखाएका थिए । गुप्तचरी एजेन्सीका प्रमुख गोयलकाे भ्रमणका क्रममा सञ्चार क्षेत्रमा समेत लगानी गरेका थापाकाे भूमिका अर्थपूर्ण थियाे । भारतकाे विशेष दूत भनेर प्रधानमन्त्री केपी ओलीले बताए पनि गोयल कसको निमन्त्रणामा नेपाल आए भन्ने त्यसबेला औपचारिक रुपमा खुलाइएको थिएन । यद्यपि त्यही भेटपछि नेपालको राजनीतिमा नाटकीय मोडहरू आएका थिए । 

थापा २०७४ मा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारणस्थल बनाउन करिब ९० बिगाहा जमिन किन्दा भएको घोटलामा समेत जोडिएका थिए । यो प्रकरणमा अनियमितता भएको ठहर गर्दै संसदको सार्वजनिक लेखा समितिले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो, जुन मामिला अहिले अख्तियारमै छ । पोखरामा भएको एक जग्गा ठगीमा समेत थापा मुछिएका थिए । 

सत्ता समीकरणको यो रस्साकस्सीका बीचमा पार्टीभित्र ध्रुवीकृत ओली र नेपालले भेटघाट थलो विवादस्पद पृष्ठभूमि भएका उनै थापाको घरलाई बनाइदिए । तर, राजनीति गर्नेहरूले व्यापारीको कोठाचोटालाई मिलनविन्दु बनाएको यो न त पहिलो हो न त अन्तिम नै हुनेछ ।

संवाद, छलफलका लागि पार्टीका आफ्नै कार्यालय छन् । सत्तारुढ दल भएकाले प्रधानमन्त्रीले त निवास बालुवाटार वा सिंहदरबारमै भेटघाटको प्रबन्ध गर्न सक्थे । ठूला क्षमता भएकादेखि सानासम्म बैठक कक्ष प्रधानमन्त्री निवासमा नभएको होइन । यसबाहेक सिंहदरबारको प्रधानमन्त्री कार्यालयमा समेत बैठक कक्ष छन् । पार्टीका केन्द्रीय कमिटी बैठकसम्म सरकारी निवासमै राखेका ओलीले नेपाललाई भेट्न भने चक्रपथबाहिर पुगेर थापाकाे महल रोजे ।  

व्यापारी राजनीति सम्बन्ध : गणतन्त्रको गलगाँड 

ओलीविरुद्धको मोर्चाबन्दीमा लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता नेपाल चैतको मध्यतिर कोटेश्वरमा एक व्यापारीको घरमा भेला भए । लगातार हप्ता दिन यी दुई नेताले व्यापारी टपिन्द्र तिमल्सिनाको घरलाई संवादथलो बनाए । यद्यपि तिमल्सिना आफू एमालेकै कार्यकर्ता रहेको दाबी गरेका थिए । 

ओलीइतरको शक्ति आर्जन गर्न प्रचण्ड-नेपालले कोटेश्वरकै चण्डेश्वर श्रेष्ठको घरलाई समेत प्रयोग गरेका थिए । चण्डेश्वरको घरमा प्रचण्ड-नेपाल बारम्बार बसेका थिए । एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रियाका बहुसंख्यक बैठक व्यापारीकै मुकाममा भएको ताजै छ ।

प्रकाशित मिति: : 2021-05-14 06:43:00

प्रतिकृया दिनुहोस्