सरिशा अछामी
काठमाडौं बाफल बस्ने २७ वर्षीया कमला पहाडी लकडाउन अघिसम्म महानगरीय प्रहरी परिसर काठमाडौं महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटी (महिला सेल)मा दैनिक रूपमा धाउँथिन् ।
उनी चार वर्षजति वैदेशिक रोजगारी गरेर तीन महिनाअगाडि फर्किएकी हुन् । वैदेशिक रोजगारीमा रहँदा काभ्रेपलाञ्चोक कोसीपारि घर भएका बस्नेत थरका व्यक्तिसँग उनको प्रेम सम्बन्ध थियो । दुई साताअघि (वैशाख १५) कालीमाटी महिला सेलमा भेटिँदा कमलाले भनिन्, ‘वैदेशिक रोजगारीबाट कमाएर उसलाई तीन लाख रुपैयाँ दिएकी थिएँ, अहिले विवाह गर्न पनि मान्दैन, पैसा फिर्ता पनि दिँदैन ।’
आफू वैदेशिक रोजगारीबाट फर्कंदाबित्तिकै विवाह गर्ने कुरा भएको उनको भनाइ छ । ‘मेरो भावनासँग खेलवाड ग¥यो,’ उनी भन्छिन्, ‘विवाह नगर्ने भए मेरो पैसा फिर्ता दिनु भन्दा भागिरहेको छ । त्यसैले उजुरी गर्न आएँ ।’
विवाह हुने कुरा आफूहरू दुवैको परिवारलाई थाहा भइसकेको उनी बताउँछिन् । पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहेर आज आएर विवाह गर्न नमान्दा आफूले समाजमा बेइज्जती महसुस गर्नुपरेको उनको भनाइ छ ।
सोही दिन महिला सेलको प्रमुखको कक्षअगाडि चारजना महिला एकआपसमा छलफल गर्दै थिए । एक पुरुषले महिलालाई हातपात गरेको विषयलाई लिएर उनीहरू त्यहाँ आएका रहेछन् । पीडित महिलाकी एक आफन्तका अनुसार, पीडित महिला र पीडक पुरुष एउटै कम्पनीमा काम गर्छन् । अफिसमै झगडा परेको र पुरुषले हातपात गरेकाले उजुरी दिएको उनको भनाइ थियो ।
किन हुन्छ घरेलुहिंसा ?
धेरैजसो महिला आत्मर्निभर नभएका कारण हिंसाको सिकार बनिरहेको महिला सेल कालीमाटीकी प्रमुख अनु लामा बताउँछिन् । ‘सानै उमेरमा विवाह हुँदा कसैको परिवारले छोरी फिर्ता लग्छन्,’ उनी भन्छिन्, ‘जसको परिवारले आफ्नो खुसीले गएको भनेर सानै उमेरमा विवाह गर्न रोक्दैनन्, त्यस्ता धेरै महिला पछि गएर हिंसाको सिकार बनेको पाइएको छ ।’
श्रीमती अन्य पुरुषसँग लागेको, श्रीमान्को अर्की महिलासँग लसपस भएको, लिभिङ टुगेदरमा बसेको, पैसा खाएर भागेको, बहुविवाह गरेको, कुटपिट र गालीगलौज गरेको, बलात्कार गरेको जस्ता उजुरी आउने उनको भनाइ छ । ‘महिला मात्र होइन, पुरुष पनि उजुरी दिन आउँछन् । पुरुषको धेरैजसो उजुरीमा श्रीमती अरुसँग लागेको, पैसा खाएर भागेको उल्लखे हुन्छ,’ उनले भनिन् ।