‘उफ्… फेरि हेलिकप्टर आयो…. को सिकिस्त भयो फेरि!’

उमाकान्त खनाल

अहिलेको स्वास्थ्य संकट बाहेक अरुबेला आकाशमा हेलिकप्टर उडेका बेला ठाडो घाँटी लाएर आकाशतिर हेर्ने गरेका मानिस अचेल आकाशमा हेलिकप्टर उड्दा ‘ला… को सिकिस्त भयो फेरि…’ भन्दै मन अमिलो बनाउने गरेका छन्।

अहिले झापाको आकाश हेलिकप्टरको आवाजे गुन्जायमान छ। तर त्यो कुनै उत्सवका लागि वा अन्य खुशी प्रयोजनका लागि उडाएको हेलिकप्टर होइन। ती हेलिकप्टर भित्र कोभिड-१९ का सिकिस्त विरामीलाई देशका अन्यत्र स्थानबाट झापा ल्याउनका लागि उडाइँदैछ।

मंगलबार पनि झापाको आकाशमा हेलिकप्टरको आवाज सुनेर बिर्तामोडकी एक जना शिक्षिका यमुना उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा लेखिन्, ‘फेरि आयो हेलिकप्टर…।’

कतिलाई लागेको छ ‘पैसा हुनेले हेलिकप्टरबाट भए पनि महंगा अस्पतलामा उपचार गर्न ल्याउँछन्, पैसा नहुनेलाई हेलिकप्टर हेरेर बस्नु त हो।’

लक्षणसहित होम आइसोलेसनमा बसेका तर उपचार गराउन निजी अस्पतालमा जान नसकेकाहरूले त्यस्तो प्रतिक्रिया दिने गरेका छन्।

बिर्तामोडका एक जना स्थानीयबासी दिलीप शर्माले भने, ‘यति हेलिकप्टर आउँछन् कि अब त आकाशबाटै कोरोना खस्छ जस्तै भइसक्यो।’ तर कोरोना संक्रमित जो ल्याइए पनि मान्छे भएकाले चाँडो निकै भएर फर्कन कामना उनले गरे।

कतिले ‘झापालीको भाग्य राम्रै रहेछ। हेलिकप्टरको लाखौं रुपैयाँ भाडा त बच्यो’ समेत भन्ने गरेका छन्। देशका धेरै स्थानबाट झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालमा उपचारका लागि कोभिडका बिरामी ल्याइँदैछ।

प्रकाशित मिति: : 2021-05-11 20:02:00

प्रतिकृया दिनुहोस्