खनाल–नेपाल समूहमा उकुसमुकुस: ओलीसँग विद्रोह गर्ने कि देउवाको सत्ता यात्रामा ‘लिस्नो’ बन्ने ?

लोकान्तर

काठमाडौँ

दलीय ह्वीप उल्लंघन गर्दै आफ्नै पार्टीका प्रधानमन्त्रीको पक्षमा विश्वासको मत हाल्न नगएपछि नेकपा एमालेभित्र वरिष्ठ नेता झलनाथ खनाल–माधव नेपाल पक्ष पार्टीभित्र अप्ठ्यारो स्थितिमा पुगेको छ ।

नयाँ सत्ता समीकरणका लागि निर्णायक जस्तो देखिएपनि पार्टीभित्र भने खनाल–नेपाल पक्ष थप कर्नरमा पर्ने देखिएको छ । बदलिएको परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर खनाल–नेपाल पक्ष आन्तरिक छलफलमा छ । 

नेपाल पक्षका २० जना हाराहारी सांसदले राजीनामा दिएको खण्डमा संसद्को अंकगणितीय समीकरणमा फेरबदल आउन सक्छ । वैशाख ३० अगावै राजीनामा भएमात्र सत्ता समीकरणमा प्रभाव पार्छ । यसअघि वैशाख २७ गतेअगावै राजीनामा गर्ने भनेर प्रचार गरिएकोमा वैशाख ३० पछि भने त्यो राजीनामाले खास फरक पार्ने छैन । 

‘न राजीनामा गर्न सक्ने, न ओलीलाई समर्थन गर्न सक्ने’ किमकर्तव्यबिमुढको अवस्थामा पुगेको नेपाल समूह कसरी अगाडि बढ्छ भन्ने कुरा प्रतिपक्षी दलहरूले बढो उत्सुकतापूर्वक नियालिरहेका छन् । 

अहिले रोकिएका राजीनामा यदि ओली संविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री भए भने र ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्थामा अगाडि बढ्न सक्ने खनाल–नेपाल समूहको आंकलन छ । 

प्रकाशित मिति: : 2021-05-11 16:36:00

प्रतिकृया दिनुहोस्