काठमाडौँ उपत्यकामा १५ दिन निषेधाज्ञा थप गरिएको छ।
मङ्गलबार काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको सहभागितामा बसेको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो।
सोमबार काठमाडौँको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस गरेको थियो।
पछिल्लो समयमा मुलुकभर कोराेना सङ्क्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
यसअघि वैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक साता निषेधाज्ञा जारी गरिएको थियो।
त्यसपछि थप कडाइ गर्दै पुन अर्को एक साता आदेश थप भएको थियो। यही २९ गते रातिबाट उक्त आदेशको समय सकिन लागेपछि पुनः निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो।