कुवाको कथा

भीषण राई

सुनसरी

शहरमा कोरोनाको कहर छ तर गाउँमा त्यस्तो छैन। उनिहरुलाई शुद्ध पानी पिउन नपाएकोमा समस्यामा छन्। त्यो पनि वर्षौदेखी। अहिले कुवाको पानि डोकोमा ल्याएर घरधन्दा गर्ने चलन लगभग छैन। तर पनि केही स्थानमा अझै पनि कुवाको चलन जारी छ। मुख्यत पिउने पानीको श्रोतको लागि अझैपनि गाउँघरका मानिषहरुले कुवाको प्रयोग गरिरहेका छन्। 

यस्तै एउटा कुवा छ। जुन पहाडको काखैमा छ। कुवाको माथील्लो पटि तितेपाती, निघुरो, बनमारा, दुधेलो झांगीएका छन्। कुवाको छेउछाउमा हरिया घांस उम्रिएका छन्। तल्लो पटि भने ढुंगाले भूई छापिएका छन्। भित्ताको कापमा रहेको विरुवाका जराहरुबाट रसाएको पानी कुवामा तप–तपाउँदै गरेको छ। कुवाको वरीपरी गाईबस्तुको खुरका डोबहरु देखिनुले यो कुवा मानिषका लागि मात्र हैन पशुपंक्षीको लागि पनि पिउने पानीको श्रोत रहेको बुझ्न सकिन्छ। सरसर्ती हेर्दा कुवाले मानिष र पशु दुवैको तिर्खा मेटिरहेको छ। 

यो कुवाको स्थापना निकै पहिले भएको स्थानिय बताउँछन्। गाउँका स्थानिय बुढापाकाले यसको खोजी गरेका थिए। उहिले देखी अहिलेसम्म यहि कुवानै गाउँलेहरुको पिउने पानीको मुख्य श्रोत हो। पैतालिस सालमा गएको भुकम्पले उक्त कुवा पुरेपछि कुवा हराएको थियो। 

गाउँलेलाई पानीको विकल्प थिएन। पछि गाउँलेले पुन तल्लो पटि त्यस्तै कुवा खने। शायद भुईचालोले जमिन धसिएर होला आउनु पर्र्ने पानी अन्त्यतिर सोसीयो। जसका कारण पहिलेको तुलनामा अहिलेको कुवामा पानी प्रशस्त आएन। तर अझैपनि जेनतेन स्थानिय त्यहि कुवाको भरमानै छन्। किनभने गाउँमा पानीको अन्य भरपर्दो श्रोत नै छैन। भएपनि दिनभर पानी बोक्नुपर्ने ठाउँमा मात्र अर्को श्रोत छ। नजिकै भएको भनेको यहि एउटा कुवा मात्र हो। मानिसको बसोबास उच्च भागमा रहेको भौगोलिक अवस्थाका कारण यस स्थानमा पानीको समस्या भएको हो। 

हिँउद बर्खा सदैव व्यस्त छ, यो कुवा। त्यो कुवाको पानी स्थानीय गाउँलेले पिउँछन्नै स्थानीय पशुले पनि पिउँछन्। बेला बेला कुकुरले पनि कुवाको पानी चाटेर खाने गर्दछ। गाउँका सबै जिवजन्तु यहि कुवाको भरमा छन्। स्थानीयको अन्य श्रोत नभएकोले त्यहि कुवाको जुठो, फोहोर र दुषित पानी पिउन बाध्य छन्। “कुकुरले चाटेको पानी पिउन बाध्य छौं” स्थानिय अरुण राई भन्छन्–“कुवाको संरक्षण गर्न कसैले पहल गर्दिए हामीलाई राहत हुने थियो।” यहाँ आउने पर्यटकलाई पानी दिन पनि नसकिएको उनिहरुको गुनासो छ। राई भन्छन् हामीलाई त यस्तै पानी पिउने बानी परिसकेको छ, उहाँहरुलाई यस्तो फोहोर पानी कसरी दिनु ?

कुवाको पानी धमिलो छ। यो कुवा जमुवा कुवा हो। कुवाको बग्ने कुनै निकासको बाटो छैन। जम्मा एघार घरधुरी रहेको उक्त गाउँमा पानीको निकै समस्या छ। घरबाट पौने घण्टा समय लगाएर कुवाको धमिलो पानी डोकोमा बोकेर खान बाध्य छन् उनिहरु। गाउँलेहरु लामो समयदेखी सफा अनि स्वस्थ्य पिउने पानीको समस्यामा छन्। कति सम्म पानीको अभाव छ भने यदि कसैले आएर लुगा धोए कुवाको पानी सकिन्छ। अनि कुवा रसाउन दिएर पर्खिनुको विकल्प छैन। कुवाको धमिलो पानी त्यसमाथी पर्याप्त पानी नहुनु अर्को समस्या छ। 

कुवाको पानी छोप्ने बन्दोबस्ती पनि छैन। उमालेर खाने चलन पनि नभएको बताउँदै अरुण राई भन्छन् –“यहाँ गाउँलेमा पानी फिल्टर गर्ने पनि चलननै छैन।” धमिलो दुषित पानी पिउनाले गाउँलेमा झाडा पखाला, रुघा मार्गी र वान्ताको समस्या हुने गरेको उनिहरु बताउँछन्। पानीको अभाव त छ नै दुषित पानी पिउनु पर्ने नमिठो अवस्था छ। आफू नगरवासी भन्नुमा पनि लाज भएको उनिहरु बताउँछन्। कागजमा नगरवासी भएपनि पानीको हाहाकारले हामी संधै काकाकुल बन्नु परेको उनिहरु बताउँछन्। 

उदयपुर जिल्लाको बेलका नगरपालिका आठ नम्बर वडाको चम्पाकोट डाँडामा रहेको कुवा र कुवासँगै जिवन जोडिएको स्थानिय गाउँलेको कथा हो यो। त्यहा पुग्न कोशी पुलबाट मोटरसाइकलमा करिव आधा घण्टाको मोटरसाईकल यात्रा पछि सहजै पुग्न सकिन्छ। एक चौथाई बाटो कालोपत्रे गरिएको छ भने बाँकी तिन चौथाई ग्राभेल बाटो छ। 

यो कुवा भएको डाँडालाई चम्पाकोट डाँडाको नामले परिचित छ। ऐतिहासीक महत्वको त्यहाँ चम्पा भगवती देवीको मन्दिर छ। त्यसैको नामबाट यो डाँडाको नाम चम्पाकोटको रहन गएको हो। छेउमा रहेको गिद्धे भिरपनि पर्यटकको लागि महत्वपूर्ण छ। टाढाबाट चम्पाकोट हेर्दा जति सुन्दर लाग्छ त्यहाँ पुगेपछि भने झनै गज्जब हुनेछ। त्यहाँबाट सर्लक्क सगरमाथा लगायत अन्य हिम श्रृंखला, सप्तकोशीको मनोरम छटा र चारकोशे झाडी छर्लंग देखिन्छन्। यहाँबाट प्याराग्लाइडिङको पनि अभ्यास हुने गरेको छ। 

अहिले चम्पाकोट पर्यटकिय स्थलको रुपमा विकास हुँदै गएको छ। पानीको समस्या भएपनि बेलाबेला आफू चम्पाकोट चिसो खान र घुम्न निस्कने गरेको कोशीपुल स्थित पलेटी रेष्टुरेण्टका सञ्चालक दिपक राई बताउँछन्। उनि भन्छन् –“यहाँ पानीको एकदमै समस्या छ, यदि सरकारले उक्त समस्या समाधान गरे चम्पाकोटको पर्यटनमा वृद्धी हुनेछ।” मुख्य त चम्पाकोटको चिसो मौसमले आफूलाई तानेको उनि सुनाउँछन्। 

यहाँको थप विशेषता भनेको तल मधेषमा हपहपी गर्मी भएको बेला यहाँ भने भेडेटारझै चिसो मौसमको अनुभूति गर्न सकिन्छ। त्यसैले यसलाई अहिले स्थानीय पर्यटकहरु मिनि भेडेटार भनेर भन्ने गरेका छन्। मिनी भेडेटारमा पानीको समस्या छ। पानीले काकाकुल भएर पनि स्थानीयको मायाप्रेम बिर्षी नसक्नुको छ। यदि यहाँ पिउने पानीको समस्या हल भए त्यहाँ पुग्ने पर्यटकलाई राम्रो हुन्थ्योनै, स्थानीय झनै खुशी बन्थे। बत्ती मुनीको अँध्यारो भनेझै तल सप्तकोशी बगेको देख्नु परेको छ तर माथी डाँडामा पिउने पानी छैन। 

बेलका नगरको नजर त्यहाँको पिउने पानी र पर्यटनमा परे समग्र बेलका नगरको भविष्य उज्वल छ। नगरको ध्यान त्यसतर्फ कहिले जाला भनेर स्थानीयहरु अझैपनि आश गरेर बसीरहेका छन्। तर बेलका नगरले दुर्गम ठाउँका जनता पनि आफ्नो नागरिक हुन् भनेर कहिले बुझ्ने खै ?

प्रकाशित मिति: : 2021-05-10 22:19:00

प्रतिकृया दिनुहोस्